Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु, दुई घाइते

Zenith Migration Education

तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा दुर्घटना भएको हो ।

ग२च ५७६० नम्बरको जिप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा पुलको रेलिङ तोडेर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिपमा पाँच जना सवार थिए ।

दुर्घटनामा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरूको मृत्यु उपचारका क्रममा दमौली अस्पतालमा भएको हो ।

अन्य दुई घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ । अर्का घाइतेको उपचार दमौली अस्पतालमै भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु