सिड्नी, अस्ट्रेलिया — अस्ट्रेलियामा अध्ययन गर्न चाहने तथा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक अवसर र माइग्रेसनसम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले सिड्नीमा ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना हुने भएको छ। आगामी सोमबार, अक्टोबर २६ मा सिड्नी टाउन हलस्थित लोअर टाउन हलमा हुने एक्स्पोमा ५० भन्दा बढी शैक्षिक संस्था र १० भन्दा बढी माइग्रेसनसम्बन्धी व्यावसायिक विज्ञ सहभागी हुने आयोजकले जनाएको छ।
‘२० वर्षदेखि जीवन र शिक्षालाई जोड्दै’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पो ग्रेस इन्टरनेसनलको स्थापनाको २०औँ वार्षिकोत्सवसँग जोडिएको छ। एक्स्पोमार्फत विद्यार्थीले विश्वविद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्नुका साथै आफ्नो शैक्षिक र व्यावसायिक भविष्यबारे जानकारी लिन सक्नेछन्।
अस्ट्रेलियाको विद्यार्थी भिसा नीति, शैक्षिक आवश्यकताहरू तथा माइग्रेसनका प्रक्रियामा भइरहेका परिवर्तनका कारण अन्तर्राष्ट्रिय विद्यार्थीले विभिन्न चुनौती र अन्योल सामना गरिरहेका बेला एक्स्पो आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रममा पाठ्यक्रम छनोट, छात्रवृत्ति, भर्नाका सर्त, विद्यार्थी भिसाका प्रावधान, सीप मूल्याङ्कन तथा सम्भावित माइग्रेसन मार्गबारे जानकारी उपलब्ध गराइनेछ।
एक्स्पोको तयारी र उद्देश्यबारे जानकारी दिन सोमबार, अक्टोबर १९ मा सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेसनलका प्रतिनिधि, शैक्षिक क्षेत्रका सरोकारवाला र सञ्चारकर्मी सहभागी थिए।
पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेसनल सिड्नीका इभेन्ट कोअर्डिनेटर तथा अपरेसन्स म्यानेजर अर्बिन एसीले शैक्षिक संस्था र माइग्रेसनसम्बन्धी विज्ञलाई एउटै मञ्चमा ल्याउँदा विद्यार्थीका जिज्ञासा सम्बोधन गर्न र आवश्यक जानकारी उपलब्ध गराउन सहयोग पुग्ने बताए।
ग्रेस इन्टरनेसनल सिड्नीकी कार्यकारी निर्देशक सिम्रिता रञ्जितकारले संस्थाको दुई दशक लामो यात्राबारे चर्चा गर्दै विद्यार्थीलाई आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्यबारे सूचित निर्णय लिन सहयोग गर्नु संस्थाको प्रमुख प्रतिबद्धता रहेको बताइन्।
उनका अनुसार एक्स्पो शैक्षिक संस्थाको प्रवर्द्धनमा मात्र सीमित नभई अस्ट्रेलियाको बदलिँदो शैक्षिक तथा माइग्रेसन नीतिबारे सचेतना अभिवृद्धि गर्ने र विद्यार्थीलाई सही तथा विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो।
सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेसनलले अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहयोग गर्दै आएको छ। संस्थाको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको एक्स्पोलाई विद्यार्थी, शैक्षिक संस्था र माइग्रेसन क्षेत्रका व्यावसायिक प्रतिनिधिबीच सम्पर्क विस्तार गर्ने अवसरका रूपमा लिइएको छ।
पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेसनल रकडेलका निर्देशक गणेश भट्टसहित संस्थाका विभिन्न कार्यालयका प्रतिनिधि तथा टोली सदस्य उपस्थित थिए। कार्यक्रममा संस्थाको नेतृत्व टोलीले प्रस्तुति दिएको थियो भने सञ्चारकर्मीसँग प्रश्नोत्तरसमेत गरिएको थियो। सोही अवसरमा नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व विजयादशमी २०८३ को शुभकामना आदानप्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय विद्यार्थी तथा बहुसांस्कृतिक समुदायसम्म सूचना पुर्याउन सामुदायिक सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको पनि चर्चा गरिएको थियो।
ग्रेस इन्टरनेसनलले अन्तर्राष्ट्रिय विद्यार्थी, भावी विद्यार्थी, स्नातक तथा सिड्नीका बहुसांस्कृतिक समुदायका सदस्यलाई एक्स्पोमा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।





