बारा (जितपुरसिमरा)। साइक्लिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको डुमरवाना साइकल क्लबले राजकुमार अर्यालको अध्यक्षतामा सात सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको छ।
दीपावली, छठ तथा नेपाल संवतको अवसरमा जितपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित देवाश्रममा आयोजित शुभकामना आदानप्रदान तथा भेलाले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
क्लबका ज्येष्ठ सदस्य आनन्दी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले उपाध्यक्षमा मनोजकुमार चौधरी, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा प्रमोदप्रसाद चौधरी र कोषाध्यक्षमा पत्रकार सीमा ठकुरीलाई चयन गरेको छ। समितिको सदस्यमा सरिता चौधरी र महेश खरेल रहेका छन्।
त्यसैगरी, आनन्दी प्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। समितिको सदस्यमा विजय जोशी, रामप्रसाद अधिकारी, रमेशचन्द्र घिमिरे र दुर्गाराज खतिवडा रहेका छन्।
भेलामा सहभागी सदस्यहरूले क्लबलाई एकताबद्ध र व्यवस्थित बनाउँदै साइक्लिङ क्षेत्रको विकास तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विभिन्न जिल्लामा आयोजना हुने साइक्लिङसम्बन्धी कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको क्लबले नयाँ कार्यसमितिमार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।




