नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी बोलाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जानेलाई रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप सार्वजनिक भइरहेका बेला एमालेको सचिवालय बैठक हुन लागेको हो । गृहमन्त्री लेखकमाथिको विवाद चुलिँदै जाँदा प्रमुख प्रतिपक्ष एमालेले औपचारिक रूपमा कसरी प्रतिक्रिया जनाउने भन्ने चासो राजनीतिमा बढेको छ ।
खासगरी सत्तारूढ कांग्रेसभित्रैबाट मन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला एमालेको बैठकले यसबारे स्पष्ट धारणा बनाउने अपेक्षा गरिएको छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने अभिव्यक्ति दिएका थि ए। कांग्रेस नेताबाट आएको यस्तो टिप्पणीले सत्ता गठबन्धनभित्रको असमझदारी झल्काएको छ ।
एमाले नेताहरूका अनुसार आजको बैठकमा लेखकमाथि उठेका आरोपबारे छलफल हुने सम्भावना छ । साथै, समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि, राष्ट्रिय सुरक्षा, भ्रष्टाचार विरुद्धको रणनीति, र पार्टीको आगामी कार्यक्रमबारे समेत बैठकले समीक्षा गर्नेछ ।



