ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अप्ठ्यारो रहेको बताएका छन्।
आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले कुनै पनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताए।
उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए।
राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्था रहेको बताए। नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने बताए। राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए।
प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरु काम पूरा गरेको जिकिर गरे।



