Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

गाजामा इजरायलले फेरि गर्‍यो आक्रमण, २२ जनाको मृत्यु

Zenith Migration Education

गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए ।

उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । मृतकमध्ये एक जना सात महिनाकी गर्भवती महिला रहेको थियो ।

उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उहाँनकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ । अन्य घातक आक्रमणहरू देइर अल बालाह, बेत लाहिया तथा खान युनिस जस्ता क्षेत्रमा पनि भएको जनाइएको छ ।

बस्सालका अनुसार, आइतबार मात्रै कम्तीमा २२ जनाको शव फेला पारिएको छ, जसमा केही बालबालिकाहरू पनि रहेका छन् । साथै दर्जनौँ घाइतेको उद्धार गरिएको छ र केही अझै बेपत्ता छन् ।

यी घटनाबारे हालसम्म इजरायली सुरक्षाफौजले कुनै आधिकारिक टिप्पणी दिएको छैन । हालैका दिनहरूमा इजरायली सेनाले गाजामा आफ्ना कारबाहीहरू तीव्र बनाएको छ, जसलाई उसले हमासलाई समाप्त पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

शनिबार दिउँसो, सेनाले पछिल्लो २४ घण्टामा गाजाभरि १०० भन्दा बढी स्थानमा आक्रमण गरेको दाबी गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिँदै युद्धविराम अन्त्य भएको ५ मार्च यता तीन हजार ७८५ जनाको मृत्यु भइसकेको जनाएको छ । योसँगै युद्ध सुरु भएदेखि मृतकको कूल सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण नागरिकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु