Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

नेपालीहरूको रोजाईमा परेको ओबर्न

Zenith Migration Education

सिड्नीको /ओबर्न बहुलजाति, बहुसंस्कृति, बहुधार्मिक, बहुभाषिक र विविध व्यवसाय भएका समुदायको बसोबास भएको एक बहुआयामिक गन्तव्य हो । यिनै समुदायहरू मध्ये, नेपाली समुदायको पनि एक प्रमुख हिस्सा भएको ओबर्न नेपालीपनको आभास गर्नसक्ने नेपाली नगरका रुपमा परिचित छ ।

नेपालीहरूको लागि महत्त्वपूर्ण बसोबासको केन्द्रको रूपमा स्थापित हुँदै आएको सिड्नीको पर्यटकीय ओबर्न क्षेत्र, जहाँ ओबर्न मेमोरियल पार्क, ओबर्न पार्क, र प्रसिद्ध ओबर्न बोटानिकल गार्डेन सबैले घुम्नै पर्ने पर्यटकीय क्षेत्र हुन् ।

नेपाली समुदायले व्यावसायिक प्रवद्र्धनका लागि आफ्नो मौलिकता र पहिचानलाई बचाइराख्न मनकामना ग्रोसरी स्टोर, रसन ग्रोसरी, हाम्रो असन बजार, समबन्ध नेपाली रेस्टुरेन्ट,मोक्क्ष्य नेपाली रेस्टुरेन्ट,हिमालयन फ्युजन नेपाली रेस्टुरेन्ट, चुलेसी नेपाली रेस्टुरेन्ट, पाथीभरा ग्रोसरी, गोर्खा ज्योलरी, जेरी सोल्टीको जेरी पसल, कफि हाउस ओबर्न हाउस अफ नेपाल बुटिक, कालिज ब्राउज एंड ब्युटी पार्लर, हिसिला ब्युटी पार्लर सिजर सिस्टरहरू कपाल तथा सौन्दर्य लगायतका व्यवसायहरूले नेपाली समुदायलाई आफ्नै देशको व्यापरिक क्षेत्रको अनुभूति दिलाएका छन् ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको लागि ओर्बन एक बिशेष आकर्षण, बसोबासको सुविधा र अवसरको केन्द्र बन्दै गइरहेको बेला ओबर्नमा नेपालीहरूको संख्यामा पनि तीव्र वृद्धि हुँदै गएको छ, र अहिले करिब १० हजारको हाराहारीमा नेपाली आप्रवासीहरूको बसोबास रहेको छ। यसले ओबर्नलाई नेपाली समुदायको दोस्रो घरका रूपमा स्थापित गराइरहेको छ भने नेपालीहरूले आफ्नो सांस्कृतिक र धार्मिक परम्पराहरूलाई प्रबासमा पनि जीवित राख्न सफल भएका छन्।

ओबर्न एक धार्मिक विविधताले पनि भरिपूर्ण रहेकाले गस्पेल नेपाली चर्च लगायतका अन्य नेपाली चर्चहरूले ख्रीष्टमस, इस्टर जस्ता उत्सवहरु मनाउँदै समुदायमा सामाजिक सेवाकार्यलाई अघि बढाएको छ । त्यसैगरी हिन्दू धर्मावलम्बीहरूले पनि तीज, दशैं, र तिहार जस्ता चाडहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु धुमधामसँग मनाउँदै आफनो धार्मिक अभ्यास गर्दै आएका छन् । यी नेपाली उत्सवहरूले नेपाली समुदायलाई एकतामा बाँध्नुका साथै अन्य समुदायहरूसँग पनि सांस्कृतिक अभ्यासको आदानप्रदान गर्न मद्दत पुर्‍याएको छ। नेपाली परम्परागत खाना, सांस्कृतिक नाचगान र धार्मिक पर्वहरूले ओबर्नलाई नेपाली संस्कृति झल्काउने क्षेत्रको रुपमा स्थापित बनाईरहेको छ।

ओबर्नमा नेपाली समुदायहरु बीच विभिन्न संघसंस्थाहरु, जस्तैः ओबर्न नेपाली कम्युनिटी, ग्लोबल गस्पेल मिनिष्ट्री, ग्रेस नेपाली डायसपोरा कम्युनिटी, नेपाली अभिभावक समाज लगायतका संस्थाहरूले नेपालीहरूको हितमा निरन्तर सामाजिक सेवाका काम गर्दै आएका छन्। यी संस्थाहरूले सामाजिक, शैक्षिक, सांस्कृतिक र धार्मिक पहिचानसहित नेपालीपनको प्रर्वद्धनका विभिन्न गतिविधिहरूलाई अगाडि बढाउँदै नेपालीहरुलाई रोजगारको अवसर सिर्जना गर्दै नेपाली समुदायको सशक्त आवाजका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । साथै, विभिन्न नेपाली व्यवसायहरूले नेपाली संस्कृति र पहिचानलाई अगाडि बढाउन ठूलो भूमिका निर्वाह गरिरहेका छन्।

ओबर्नमा बसोबास गर्ने नेपालीहरूको मुख्य प्राथमिकता शिक्षा रहेको छ। धेरै नेपाली विद्यार्थीहरूले सिड्नीका प्रतिष्ठित कलेज र विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। साथै, व्यापारिक क्षेत्रमा नेपालीहरूको उल्लेखनीय योगदान रहेको छ। रेस्टुरेन्ट, ग्रोसरी, ब्युटी पार्लर, र अन्य व्यवसायिक गतिविधिहरूले ओबर्नलाई नेपालीहरूको लागि मात्र नभई, अन्य समुदायहरूका लागि पनि एक आकर्षक गन्तव्य बनिरहेको छ।

ओबर्न क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरू, जस्तैः उल्वर्थ र अल्दी सुपरमार्केटले स्थानीय बासिन्दाहरूलाई आवश्यक सबै सुविधा प्रदान गर्दै आएका छन्। यसको अतिरिक्त, ओबर्नको पार्क र सार्वजनिक स्थानहरूले नेपाली समुदायका लागि सौहार्दपूर्ण वातावरण सिर्जना गरेको छ भने, परिवारहरूका लागि रमाइलो र सुरक्षित ठाउँको रूपमा ओबर्न स्थापित हुँदै गएको छ।

ओबर्नको नेपाली समुदायले यहाँको स्थानीय जीवनशैलीमा आफ्नो महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यहाँको सांस्कृतिक विविधता र सहिष्णुताले नेपालीहरूको लागि अझै आकर्षक भविष्यको सम्भावना ल्याइरहेको छ। व्यापारिक र शैक्षिक क्षेत्रमा अझै ठूलो प्रगति हुने अपेक्षा गरिएको ओबर्नलाई नेपालीहरूको आर्कषक केन्द्रको रूपमा निरन्तर स्थापित गर्दै लगेको छ ।

नेपालीहरूको सक्रिय भूमिका, सांस्कृतिक योगदान, र सामाजिक एकताले भरिपूर्ण ओबर्नलाई बहुसांस्कृतिक सिड्नीको नेपाली समुदायको प्रमुख गन्तव्य बनाएको छ। यहाँको सुरक्षा, सुविधा, र विविधता नेपालीहरूको लागि मात्र होइन, अन्य समुदायका लागि पनि प्रेरणादायक बनेको छ। ओबर्न नेपालीहरूको मात्र नभएर अष्ट्रेलियामा नवआगन्तुकहरूको लागि पनि एक अवसरको भूमि बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु