नेपालीका दैनिक आवश्यक सामग्री एकै ठाउँमा, औपचारिक उद्घाटन शनिबार
सिड्नी — नेपाली समुदायको बाक्लो बसोबास रहेको ओबर्नको मुटु ओबर्न सेन्ट्रलमा ‘Ausmandu Bazaar’ नामक नेपाली ग्रोसरी स्टोर सञ्चालनमा आएको छ। सगुन ग्रुप अष्ट्रेलियाद्वारा सञ्चालनमा ल्याइएको उक्त स्टोर पहिले अष्ट्रेलिया पोस्ट रहेको स्थानमा रहेको हो।

नेपाली परिवारलाई दैनिक रूपमा आवश्यक पर्ने नुन, तेल, प्याज, लसुन, चामल, घिउ, हरिया ताजा तरकारी, नेपाली मसला, मासुजन्य सामग्री, नेपालको लोकप्रिय वाईवाईलगायतका चाउचाउ तथा अन्य उपभोग्य सामानहरू एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ।

Ausmandu बजारकी सञ्चालक सेलिना कक्ष्यपतीका अनुसार, ओबर्न सेन्ट्रलमा नेपाली समुदायका लागि दैनिक उपभोग्य सामग्री सहज, सुपथ र गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको हो।
“हामी आफैं होलसेल बिक्रेता भएकाले ग्राहकलाई उचित मूल्यमा सेवा दिन सक्छौँ भन्ने विश्वास छ,” कक्ष्यपतीले भनिन्, “प्रतिस्पर्धा त रहन्छ नै, तर हामी ग्राहकको मन जित्ने गरी सेवा दिने तयारीमा छौँ। आउँदो शनिबार विधिवत् उद्घाटन गर्दैछौँ, सम्पूर्ण नेपाली समुदायलाई आएर सेवा लिने अवसर दिन आग्रह गर्छु।”

ओबर्न क्षेत्रमा यसअघि नै नेपाली ग्रोसरी स्टोरहरू सञ्चालनमा रहे पनि थप नयाँ स्टोर खुलेसँगै ग्राहकका लागि विकल्प बढेको स्थानीयहरूले बताएका छन्। एक स्थानीय ग्राहकले भने, “नेपाली सामान एकै ठाउँमा सजिलै पाउनु हामीजस्ता परिवारका लागि खुसीको कुरा हो। प्रतिस्पर्धा बढेपछि मूल्य र सेवामा पनि सुधार आउने अपेक्षा छ।”

यद्यपि, एउटै क्षेत्रमा उस्तै प्रकृतिका व्यवसायहरू बढ्दै जानुले व्यवसायीहरूबीच चुनौती थपिएको केही स्थानीय व्यवसायीहरूको भनाइ छ। तर ग्राहकका लागि भने रोजाइ, मूल्य र सेवामा प्रतिस्पर्धा सकारात्मक हुने देखिन्छ।

Ausmandu Bazaar मा अहिले नै ग्राहकहरूको उत्साहपूर्ण आगमन र चहलपहल देखिन थालेको छ। पछिल्लो समय ओबर्न क्षेत्रमा नेपाली रेस्टुरेन्ट, ग्रोसरी, क्याफे तथा अन्य व्यवसायहरू तीव्र रूपमा विस्तार हुँदै गएका छन्। यसले एकातिर नेपाली समुदायको आर्थिक सक्रियता झल्काएको छ भने अर्कोतर्फ बढ्दो प्रतिस्पर्धासँगै व्यवसाय टिकाइराख्ने चुनौती पनि थपिएको व्यवसायीहरू बताउँछन्।







