सिड्नी — ओबर्न सेन्ट्रलमा सञ्चालनमा आएको नेपाली ग्रोसरी स्टोर ‘Ausmandu Bazaar’ को शनिबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको छ। सगुन ग्रुप अष्ट्रेलियाद्वारा सञ्चालनमा ल्याइएको उक्त बजारको उद्घाटन कार्यक्रममा ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष अरूण श्रेष्ठलगायत नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाली परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री, नेपाली मसला, चामल, तरकारी, वाईवाईलगायतका सामान एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ।

“हामी ग्राहकलाई सुपथ मूल्यमा गुणस्तरीय सेवा दिने प्रयासमा छौँ,” बजारकी सञ्चालक सेलिना कक्ष्यपतीले भनिन्।
उद्घाटनकै पहिलो दिन ग्राहकहरूको बाक्लो आगमन देखिएको थियो। सञ्चालक पक्षले समुदायको उत्साहपूर्ण साथले राम्रो व्यापार हुने विश्वास व्यक्त गरेको छ।




