सिड्नी – सेप्टेम्बर १४, शनिबारका दिन Grace Nepali Diaspora Community (GNDC) ले आगामी सेप्टेम्बर २२, आइतबार, तेस्रो वार्षिक अल्फा & ओमेगा फुटसल प्रतियोगिताको तयारी र खेल तालिका सार्वजनिक गर्ने उद्देश्यले एक विशेष प्रेस मिटको आयोजना गर्यो। कार्यक्रमको सुरुवात गस्पेल नेपाली चर्चका पाष्टर जीवन रायमाझीको प्रार्थनाबाट भएको थियो।
सिड्नी नेपाली चर्चमा सम्पन्न सो कार्यक्रममा GNDC का संस्थापक तथा फुटसल प्रतियोगिताका संयोजक सिमोन राज भाटले GNDC को इतिहास, उद्देश्य र आगामी योजनाहरूबारे जानकारी गराउनुभयो। कार्यक्रममा सिड्नीका पाँच मण्डलीका खेलाडी, अगुवा र पर्यवेक्षकहरू गरी करिब २५ जनाको उपस्थिति रहेको थियो।
UNCC चर्च लिभरपुलका पास्टर अनिल श्रेष्ठले GNDC ले नेपाली मण्डलीहरू बीच एकता, भातृत्व र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, यस फुटसल प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली इसाई समुदायलाई एक साझा मञ्च प्रदान गरेको बताउनुभयो।
कार्यक्रमका संचालक र GNDC का सचिव तथा Grace Football Club का कप्तान सरण क्षेत्रीले प्रतियोगिताका नियमहरू र अन्य जानकारी प्रस्तुत गर्दै सबै मण्डलीहरूलाई प्रतियोगिताको सफलताका लागि सहकार्य गर्न आह्वान गर्नुभयो।
सिड्नीबाहिरका मण्डलीहरूको लागि GNDC को फेसबुक पेजबाट कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो। सिड्नी नेपाली चर्चको मिडिया टिमले कार्यक्रमको प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रमको समापन एल्डर तेज प्रजापतिले प्रार्थनासहित गर्नुभयको थियो।
स्मरण रहोस्, यस वर्षको अल्फा & ओमेगा फुटसल प्रतियोगितामा सिड्नीका ७ मण्डली, क्यानबेराका २, होबार्ट र ब्रिसबेनका १/१ मण्डली गरी कुल २० टोलीको सहभागिता रहनेछ।

















