सिड्नी – ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठको नेतृत्वमा तीजमेला भोलम ३ को भव्य समापनपछि, मेलालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने प्रायोजक, संघसंस्था र व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्दै विशेष सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ। ओबर्न पार्कमा आयोजित यो कार्यक्रमले समुदायमा थप एकताको सन्देश फैलाएको छ।
यस अवसरमा, हालै सम्पन्न बरउड काउन्सिलको निर्वाचनमा काउन्सिलर पदमा विजयी भएकी नेपाली चेली सुकृती भट्टलाई अध्यक्ष श्रेष्ठले विशेष सम्मान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरे। सुकृती भट्टले आफूलाई प्राप्त समर्थन र मायाको लागि सम्पूर्ण नेपाली समुदायप्रति आभार प्रकट गर्दै, भविष्यमा समुदायको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याइन्।
कार्यक्रममा झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेती तथा एनआरएन अस्ट्रेलियाका पूर्व उपाध्यक्ष देव बहादुर गुरुङले पनि आफ्नो धारणा राख्दै, तीजमेलाको सफल आयोजनाको प्रशंसा गरे। उनीहरूले ओबर्न नेपाली कम्युनिटीले गरेको प्रयासले नेपाली समुदायलाई एकताबद्ध बनाउन उल्लेखनीय भूमिका खेलेको बताए।
विशेष भेटघाट कार्यक्रममा सहभागीहरूले तीजमेलाको सफलतामा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यस्तै सहकार्य र एकता कायम रहनुपर्नेमा जोड दिएका थिए।











