सिड्नी — सिड्नीको ग्रानभिलस्थित सञ्चालनमा रहेको Everest Martial Arts Academy Australia लाई क्लब सञ्चालन तथा खेलाडीहरूको खेल विकासका लागि A1 Group Services ले खेल सामग्री सहयोग गरेको छ।
शनिबार ग्रानभिलस्थित Flavours of Nepal मा आयोजित कार्यक्रममा A1 Group Services का निर्देशक प्रदीप दाहालले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। क्लबलाई आवश्यक खेल सामग्री उपलब्ध गराउँदै कम्पनीले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याएको जनाइएको छ।

सहयोग हस्तान्तरणका अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी, क्लबका खेलाडी, प्रशिक्षक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका अध्यक्ष मुकुन्द्र महर्जनले A1 Group Services का निर्देशक दाहालसहित सुवास र रिसाबलाई मायाको चिनो प्रदान गरेका थिए।
क्लबका उपाध्यक्ष लक्ष्मी भट्ट र कोषाध्यक्ष सोनाम लामाले मन्तव्य राख्दै A1 Group Services को सहयोगप्रति आभार व्यक्त गरेका थिए। यस्ता सहकार्यले क्लब तथा खेलाडीको विकासमा थप टेवा पुग्ने उनीहरूको भनाइ थियो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। सहभागीहरूले A1 Group Services लगायत सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका थिए।
क्लबले भविष्यमा पनि खेलाडी उत्पादन, अनुशासित प्रशिक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको पहिचान स्थापित गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।




