Wednesday, April 22, 2026
Zenith Migration Education
Wednesday, April 22, 2026

सिड्नीमा एभरेष्ट मार्सल आर्ट एकेडेमी अष्ट्रेलिया चम्किँदै

Zenith Migration Education

सिड्नी — नेपाल सितोरियो करातेका अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडी तथा प्रशिक्षकहरूले संयुक्त रूपमा प्रशिक्षण दिँदै अष्ट्रेलियामा कराते अभ्यासलाई निरन्तरता दिइरहेका छन्। Everest Martial Arts Academy Australia मार्फत उनीहरूले प्रवासमै नेपाली खेलकुद पहिचानलाई मजबुत बनाउँदै नयाँ पुस्ताका खेलाडी उत्पादनमा सक्रिय भूमिका खेलिरहेका छन्।

अन्तर्राष्ट्रिय अनुभव बोकेका प्रशिक्षकहरू—मुकुन्द्र महर्जन, मल्लीका थापा र लक्ष्मी भट्ट—को नेतृत्वमा सञ्चालन भइरहेको एकेडेमीले छोटो समयमै सिड्नीमा आफ्नो प्रभाव विस्तार गरेको छ। दक्ष प्रशिक्षण, अनुशासन र समर्पणका कारण यहाँ प्रशिक्षण लिने खेलाडीहरू विभिन्न क्लबस्तरीय तथा च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुँदै पदकसमेत जित्न सफल भएका छन्।

ग्रानभिल काउन्सिल हलमा हरेक मंगलबार र बिहीबार साँझ ५–७ बजेसम्म सञ्चालन हुने प्रशिक्षणमा ५ वर्षमाथिका बालबालिका, किशोर, युवा तथा वयस्क सबै उमेर समूहलाई सहभागी हुने अवसर प्रदान गरिएको छ। नियमित अभ्यास, अनुशासन र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पद्धतिले एकेडेमीलाई समुदायमा झन् लोकप्रिय बनाउँदै लगेको छ।

नेपाली समुदायका बालबालिकाहरूलाई अतिरिक्त गतिविधिका रूपमा कराते प्रशिक्षण पनि निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ। यसले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै अनुशासन, आत्मविश्वास र आत्मरक्षाका सीप विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

क्लबका अध्यक्ष मुकुन्द्र महर्जनका अनुसार नेपालबाट अध्ययन, रोजगारी वा भ्रमणका क्रममा अष्ट्रेलिया आएका कराते खेलाडीहरूलाई संगठित गर्दै निरन्तर प्रशिक्षणको वातावरण उपलब्ध गराउनु नै मुख्य उद्देश्य हो। “प्रवासमा पनि दक्ष खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म सहभागी गराउने हाम्रो लक्ष्य हो,” उनले भने, “करातेकै माध्यमबाट नेपाल चिनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ।”

प्रशिक्षक मल्लीका थापाले सुरुवाती दिनहरूमा नेपाली खेलाडीहरूको अभावका कारण अन्य अष्ट्रेलियन क्लबमा जानुपर्ने बाध्यता रहेको अनुभव सुनाइन्। “पहिले आफ्नै समुदायको क्लब नभएकाले अन्य क्लबमा प्रशिक्षण लिनुपर्थ्यो,” उनले भनिन्, “तर अहिले सहकार्यमार्फत आफ्नै क्लब स्थापना गरेर प्रशिक्षण दिन पाउनु गर्वको विषय हो।”

उनका अनुसार कराते केवल खेल मात्र नभई जीवनशैलीसमेत हो, जसले अनुशासन, धैर्यता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्छ।

प्रवासमा रहेका नेपाली खेलाडीहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आपसी सहकार्य र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले एकेडेमीले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ। साथै, नेपाली समुदाय तथा विभिन्न संघ–संस्थाबाट निरन्तर सहयोग प्राप्त भए भविष्यमा अझ ठूलो स्तरमा खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान अझ मजबुत बनाउने लक्ष्य एकेडेमीले लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु