काठमाडौँ । नेपालकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको सेवामा योगदान गरेको भन्दै विशेष सम्मान गरेको छ ।
प्रहरी हिरासतमा परेका अभिभावकका बालबालिकालाई १८ वर्षदेखि आश्रय, शिक्षा र पालनपोषण गर्दै आएकी राना मगरको निःस्वार्थ सेवाले हजारौं बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको भन्दै यो सम्मान प्रदान गरिएको हो ।
बिहीबार आयोजित समारोहमा काउन्सिल एडलार्ज एरिन मर्फीले उनलाई सम्मान गरेका हुन् । सामाजिक न्याय र असहाय बालबालिकाको हितमा समर्पित सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको बोस्टन सिटी काउन्सिलले जनाएको छ ।
उपसभामुख रानाले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर प्रदान गरेकी छन् ।
कार्यक्रममा उपसभामुख रानाले समाज सेवामा आफूले बिताएको समय, नेपालले महिला र बालबालिका क्षेत्रमा गरेको प्रगति, समानुपातिक समावेशिताबारे धारणा राखेकी थिइन् ।
बोस्टन सिटी काउन्सिलले आयोजना गरेको ‘नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन उपसभामुख राना अमेरिका भ्रमणमा छिन् ।



