Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

संघर्षको यात्राबाट सामाजिक ‘नायिका’ बनेकी सनिता

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । जीवन गर्भदेखि चितासम्मको यात्रा हो । गर्भदेखि चितासम्मको यात्रा कसैका लागि सहज अनि कसैका लागि जटिल पनि बन्दछ । जीवनको यात्रामा उकाली–ओराली, दुःख–सुख, सहज–असहज परिस्थिति आइरहन्छन् । संघर्ष गर्नु मानव जीवनको बाध्यता हो । धर्तीमा पाइला टेकेपछि बाँच्नका लागि निरन्तर संघर्ष भने गरिरहनु पर्दछ ।

यसको जल्दोबल्दो उदाहरण हुन् सनिता लामा । मध्यम वर्गाीय परिवारमा जन्मेकी उनी घरकी साइली छोरी हुन् भने उनका दुई दाजु र तीन दिदीबहिनी छन् ।

काठमाडौँको बौद्ध क्षेत्रमा साधारण परिवारमा हुर्किएकी सनिता सित जीवनाका अनेकै संघर्षका कथा छन् । मध्यम वर्गीय परिवारमा जन्मेपनि उनीले विद्यालय शिक्षा बौद्ध सेकेन्डरी बोर्डिङबाट पूरा गरिन् । त्यसपछि युनाइटेड कलेजबाट २००४ मा कक्षा १२ उत्तीर्ण गरेपछि उनले क्रिस्ट कलेजमा स्नातक तहको अध्ययन पूरा गरिन् ।

त्यसपछि अध्ययनकै सिलसिलामा उनको यात्रा सिंगापुर केन्द्रित भयो । त्यहाँ उनले होटल म्यानेजमेन्टको अध्ययन पूरा गरेपछि स्वदेश फर्किइन् । नेपाल रहँदा पनि उनी तीन वर्ष यहाँकै कलिला नानिबाबुहरुका गुरु बनिन् ।

सहज तवरले चलेको उनको जीवन विवाहपछि अर्कै दिशा तिर मोडियो । उनले बुबाआमाको सल्लाहअनुसार सन् २०११ मा अष्ट्रेलिया बस्ने नेपाली युवकसँग मागी विवाह गरिन् । विवाहको शुरुवाति चरण सोचेअनुसार नै चलिरहेको थियो । तर पछि बैवाहिकसम्बन्धमा सुरुभयो शङ्का, जसका कारण उनको सम्बन्ध कमजोर हुँदै गयो । भनिन्छ, जब शङ्का उत्पन्न हुन्छ, तब त्यो सम्बन्ध धेरै दिन टिक्न सक्दैन ।

यसै शङ्का र आशङ्काका बिच उनी सन्, २०१३ मा आठ महिनाको गर्भवती अवस्थामा श्रीमानसँगै अष्ट्रेलिया पुगिन् । नयाँ देशमा नयाँ जीवनको सुरुवात गर्ने आशामा अष्ट्रेलिया प्रवेश गरेकी उनका सपना चकनाचुर भयो । सन्तानको जन्मपछि पनि दाम्पत्य जीवनमा झगडाले स्थान लिएपछि अन्ततः उनी कानुनी रुपमै सन्तानसहित अलग हुन बाध्य भइन् ।

त्यो समय उनका लागि जीवनकै सबैभन्दा कठिन परिस्थिति थियो । आँखामा आशु र काखमा निर्दोष बच्चा अनि अनजान विदेशी भूमि । अष्ट्रेलियाको परिवेशमा उनलाई अर्कै ग्रहमा पुगेको जस्तो अनुभूति हुन्थ्यो । कहिले ईश्वरलाई, कहिले आफैंलाई दोष दिँदै कहिले चिच्याउथिन्, त कहिले मौन रुँदै दिनहरु बिताउथिन् । उनका लागि ती दिनहरू जीवनको परीक्षा झैँ थियो । तर उनले त्यो कठिन परिस्थितिमा हार मानिन् र सन्तानको अनुहार सम्झेर आफूलाई फेरि उठाउने निधो गरिन् ।

त्यस्तैले आज उनी अष्ट्रेलियामा सामाजिक सेवाबाट सबैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । साधारण परिवारमा हुर्किएर जीवनका अनेकै परिस्थिति र संघर्षको सामना गर्दै आज उनी घरेलु हिंसामा परेका महिलाहरुको आवाज बन्न सफल भएकी छिन् ।

जिवन सहज थिएन, सामाजिक अपहेलना, पारिवारिक विछोड र एकल आमाको जिम्मेवारीसँग जुझ्दै उनी अघि बढिन् ।
सनिताले महसुस गरिन्, जस्तो पीडा आफूले भोगिन्, त्यस्तै हिंसा र अन्याय धेरै महिलाहरुले पनि भोगिरहेका छन्, होला । त्यसपछि उनले आफैंजस्ता हिंसामा परेका पीडित महिलाहरूको आवाज बन्ने निर्णय गरिन् ।

आज उनी सामाजिक अभियानमा सक्रिय छन् । महिला हिंसाविरुद्धको अभियान, समुदायमा चेतना फैलाउने कार्यक्रम र पीडितलाई कानुनी तथा भावनात्मक सहयोगमा सक्रिया हुँदै आइरहेकी छिन् । अनेक महिलाहरू उनलाई “वास्तविक हिरोइन” भनेर चिन्न् थालेका छन् ।

आफ्नो संघर्षबाट प्राप्त अनुभवलाई समाज रूपान्तरणमा प्रयोग गर्ने सङ्कल्पसहित उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचनमा महिला संयोजक पदमा उम्मेदवार दिएकी छिन् । “सेवाको अठोटले अघि बढेकी हुँ । मलाई नेपाली समुदायले न्याय गर्ने विश्वास छ ।” उनी भन्छिन् ।

यही २६ जुलाईमा हुने निर्वाचनमा टिम एकता तर्फबाट मैदानमा उत्रिएकी सनिता लामाको उम्मेदवारीले समुदायमा उत्साहको माहोल सिर्जना गरेको छ । उनका पक्षमा समर्थन बढ्दो छ भने उनीजस्तै संघर्षशील, संवेदनशील र सेवाभाव भएको पात्रको विजयी अभियानले धेरैलाई आशा र प्रेरणा प्रदान गर्ने निश्चित छ । ‘जीवनमा सुख खोजेर होइन, दुःखमा लडेर, संघर्ष गरेर लक्ष्यमा पुग्न सकिन्छ ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु