Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

गृहमन्त्री लेखकमाथि राजीनामाको चौतर्फी दबाब, कांग्रेसभित्रै पनि उठ्यो आवाज

Zenith Migration Education

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा हुने गरेको संगठित असुलीमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट समेत आवाज उठेको छ ।

निष्पक्ष अनुसन्धानका लागि पद त्यागेर नैतिकता देखाउन चौतर्फी दबाब बढे पनि गृहमन्त्री लेखकले भने गल्ती प्रमाणित भए राजनीतिबाटै अलग हुने तर राजीनामा नदिने अडान लिएका छन् । सत्तारुढ कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकले आफैंमाथि अनुसन्धान गर्न मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् । ‘उहाँले नैतिकताका हिसाबमा म क्लिन छु, राजीनामा गरेँ, छानबिन समिति बनाउनुस् भन्नुपर्छ, त्यसले मोरल स्टेटस देखिन्छ,’ कोइरालाले भनेका छन् ।

विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपा नेपालले एकस्वरले लेखकले नैतिकताका आधारमा राजीनामा दिएर निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । रास्वपाले विगतमा लेखक स्वयंले यस्तै प्रकृतिका घटनामा राजीनामा मागेको स्मरण गराउँदै माग पूरा नभए सदन अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ । माओवादी महासचिव देव गुरुङले छानबिन निष्पक्ष बनाउन आरोपितले मार्गप्रशस्त गर्नुपर्ने लोकतान्त्रिक अभ्यास रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ । गृहमन्त्री लेखककै सचिवालयको प्रत्यक्ष संलग्नतामा केही महिनायता भिजिट भिसामा असुली बढेको सूचनाका आधारमा अख्तियारले अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित केही बिचौलियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

भट्टराईबाट तीनवटा मोबाइल र ल्यापटप बरामद गरिएको छ, जसमध्ये एउटा मोबाइल ‘सेटिङ’का लागि मात्र प्रयोग हुने गरेको खुलेको छ । यस प्रकरणमा दैनिक ५० लाखसम्म असुली हुने गरेको र त्यसमा संस्थागत भागबन्डा हुने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गृहमन्त्री लेखकले भने आफूमाथि लागेका आरोप झूटा भएको दाबी गर्दै जेठ १३ गते प्रतिनिधिसभामा विस्तृत जवाफ दिने बताएका छन् । गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मन्त्रीको संलग्नता नरहेको र अख्तियारको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रस्ट पारेको छ । यो प्रकरणले दुई वर्षअघिको भुटानी शरणार्थी काण्डको स्मरण गराएको छ, जसमा तत्कालीन गृहमन्त्री नै मुछिएका थिए । दुवै घटना संगठित र संस्थागत प्रकृतिका देखिनुका साथै गृह मन्त्रालयको नेतृत्व नै विवादमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु