सिड्नी— गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलिया युथ फोरमको आयोजनामा सम्पन्न एनआरएन कप फुटबल प्रतियोगिताको उपाधि फेवा फुटबल क्लबले जितेको छ।
आइतबार सम्पन्न फाइनलमा सेन्टजर्ज नेप्लीज फुटबल क्लबलाई टाईब्रेकरमा ६–५ गोलअन्तरले पराजित गर्दै फेवाले उपाधि आफ्नो पोल्टामा पारेको हो। निकै प्रतिस्पर्धात्मक फाइनलमा दुवै टिमले निर्धारित समयसम्म गोलरहित बराबरी खेलेका थिए।

२४ टिमको सहभागिता रहेको प्रतियोगितामा हरेक टिममा ६ खेलाडी रहेका थिए। कूल १४४ खेलाडी सहभागी भएको प्रतियोगितामा फेवा फुटबल क्लबले उपाधिसँगै ४ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सेन्टजर्ज नेप्लीज फुटबल क्लबले २ हजार डलरमा चित्त बुझाएको छ।
समापन समारोहमा विजयी खेलाडीहरुलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पुरस्कार वितरण गरे।
कार्यक्रममा मुख्य प्रायोजक फोर नेशन्स इन्टरनेशनलका निर्देशक तथा एक्का अध्यक्ष कोमल पाठक, एनआरनए NSWका संयोजक बिनोद कुवर,युथ फोरमका संयोजक सुमन बोहरा, गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष राजीव प्रधान, एनआरएन अष्ट्रेलियाका पूर्व उपाध्यक्ष देव गुरुङ, अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसन (एन्फा) का पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको संयोजन गोर्खा नेप्लीज कम्युनिटीका तर्फबाट सन्दिप रावलले गरेका थिए भने एनआरएन युथ फोरमले एन्फा अष्ट्रेलिया र गोर्खा नेप्लीज कम्युनिटीसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो।















