Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

रियल इस्टेटमा चम्केका मेघराज पौडेलको संघर्षदेखि सफलतासम्मको यात्रा

Zenith Migration Education

सिड्नी—अष्ट्रेलियाको रियल इस्टेट व्यवसायमा परिचित नाम हाे तनहुँ ढोरफिर्दीका मेघराज पौडेल । तनहुँको ढोरफिर्दी गाउँमा जन्मिएर साधारण परिवेशमा हुर्किएका मेघराजले पढाइलाई साधन बनाए, कामलाई धर्म, र परिवारलाई मेरुदण्ड।

उनको बाल्यकाल शुक्ला गण्डकी नगरपालिका–१० मा बित्यो। श्री छब्दी माध्यमिक विद्यालयमा पढेका मेघराजले शिक्षाको गहिरो मूल्य बाल्यकालमै बुझे। पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक सकेपछि उनी फर्किए आफ्नै विद्यालय, जहाँ उनले चार वर्षसम्म शिक्षक भएर ज्ञान बाँडे, अरूको सपना साकार पार्ने अभिभावक बने।

शिक्षण पेशा उनलाई मन पर्थ्यो, तर जीवन यत्तिकै थामिन्छ जस्तो लागेन। नयाँ सम्भावनाको खोजीले उनलाई तनहुँबाट काठमाडौंसम्म ल्यायो, अनि सन् २००९ मा अष्ट्रेलियासम्म।

सन् २००९ मा उनी पत्नी किशोरी शर्मासँग अष्ट्रेलिया आए । त्यतिबेला उनको हातमा न ठोलो पूँजी थियो न त पहिचान । थियो त केवल विश्वास, सिक्ने इच्छाशक्ति र मेहनतप्रतिको आस्था। 

त्यो बेला तीन वर्षको छोरा नेपालमै छोड्नु परेको पीडा आज पनि मनको कुनामा चिसो भएर बसेको छ। छोरा सन् २०१२ मा अष्ट्रेलिया आएपछि मात्र परिवारले फेरी एउटा सिंगो आकार लिएको थियो। पछि सन् २०१४ मा कान्छो छोराको जन्म भयो।

जिन्दगी क्रमशः जम्दै थियो तर संघर्षपूर्ण पनि। पढाइ, काम, घर एकैपटक अघि बढाउन उनलाई सहज थिएन । मेघराजले आफूलाई रियल इस्टेट क्षेत्रमा चिनाउने निर्णय गरे। हिजो शिक्षकको जिम्मेवारी सम्हालेका हातले अब घर जग्गा बेच्ने कागज समाउन थाले।

त्यही बाटो हुँदै उनी ‘मल्टिडाइनामिक’ कम्पनीको नेतृत्वमा पुगे। आज उक्त कम्पनी अष्ट्रेलियाका थुप्रै ठाउँहरुमा फैलिएको छ।  उनको नेतृत्वमा मल्टिडाइनामिकले न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र एडिलेडमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। कम्पनी अष्ट्रेलियाको अग्रणी रियल इस्टेट व्यवसायमध्ये एक बनेको छ।

हाल उनका जेठा छोरा युएनएसडब्लु (UNSW) मा स्नातक अध्ययन गर्दै छन् भने कान्छो छोरा ग्रेड ६ मा पढ्दै छन्। कान्छो छोरालाई फुटबलमा गहिरो रुचि छ र उनी एक कुशल खेलाडी पनि मानिन्छन्।

पेशागत जीवनमा स्थायीत्व र सफलताको कथा लेख्न सफल भएका मेघराज भन्छन्, “जीवन एउटा यात्रा र अनुभव हो। हामीले त्यही गर्नुपर्छ जसले हामीलाई खुशी बनाउँछ। यदि हामी राम्रो गर्छौं भने त्यसको प्रतिफल पनि राम्रो नै प्राप्त हुन्छ ।”

व्यवसायसँगै उनी सामाजिक क्षेत्रमै पनि उत्तिकै सक्रिय छन्। हाल उनी तनहुँ समाज अष्ट्रेलियाका अध्यक्षको भूमिकामा क्रियाशील छन्।

सिड्नीको लेपिङ्टनमा बसोबास गर्दै आएका पौडेल अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागिसमेत प्रेरणाका स्रोत बनेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु