सिड्नी । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताका लागि एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग प्रतिबद्धता जनाएको छ।

फाउन्डेसनका संस्थापक तथा अध्यक्ष शेष घलेले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीलाई भेट गरी बाढी प्रभावित बालबालिकाको अवस्था र दीर्घकालीन सहयोगका विषयमा छलफल गरेका छन्।
फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) सँग गरेको समझदारीपत्र (MoU) मार्फत बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने जनाएको हो।

घलेले आफू र पत्नी बाढी प्रभावित बालबालिका तथा परिवारले भोगेको अवस्थाबाट गहिरो रूपमा प्रभावित भएको उल्लेख गर्दै उनीहरूको शिक्षा र भविष्य सुनिश्चित गर्न दीर्घकालीन सहयोग आवश्यक रहेको बताएका छन्।
“यी बालबालिकालाई कठिन समय पार गर्न मात्र होइन, आगामी वर्षहरूमा पनि उनीहरूको शिक्षा निरन्तरता, आवश्यकताहरूको पूर्ति र भविष्यप्रतिको आशा कायम राख्न सहयोग गर्न चाहन्छौं,” घलेले भनेका छन्।

सम्झौताअनुसार योग्य बालबालिकाको परिस्थितिअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक आवश्यकतामा सहयोग उपलब्ध गराइनेछ।
घलेले यो पहल आर्थिक सहयोगमा मात्र सीमित नभई बाढीबाट प्रभावित बालबालिकालाई उनीहरू हुर्कंदै जाँदा निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धता भएको बताएका छन्।

“सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूलाई आफूहरू बिर्सिएका छैनौं भन्ने महसुस गराउन चाहन्छौं,” घलेले भनेका छन्।



