Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

AISECS को कोष संकलनबाट नेपालका बाढीपीडितका लागि ११ हजार डलर संकलन

Zenith Migration Education

सिड्नी । नेपालमा बाढीबाट प्रभावित परिवारको राहतका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित कोष संकलन कार्यक्रममा ११ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।

अस्ट्रेलियन इन्डियन स्पोर्ट्स, एजुकेसन एन्ड कल्चरल सोसाइटी (AISECS) को आयोजनामा शुक्रबार ग्रानभिलस्थित ग्रान्ड रोयलमा आयोजित डिनर तथा लिलामी कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो। आयोजकका अनुसार संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको राहतमा पठाइनेछ।

कार्यक्रममा सांसद, स्थानीय जनप्रतिनिधि, व्यवसायी, सामुदायिक अगुवा तथा अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न समुदायका प्रतिनिधिको सहभागिता थियो।

कोष संकलनका लागि अस्ट्रेलिया, भारत र श्रीलंकाका क्रिकेट खेलाडीले हस्ताक्षर गरेका क्रिकेट ब्याट तथा पारामाटा इल्स र पेनरिथ प्यान्थर्सका खेलाडीले हस्ताक्षर गरेका जर्सी लिलामीमा राखिएको थियो। र्‍याफल, डिनर टिकट र सहभागीको स्वेच्छिक योगदानबाट समेत रकम संकलन गरिएको आयोजकले जनाएको छ।

क्रिकेट अस्ट्रेलियाका एम्बेसडर तथा सामुदायिक अभियन्ता गुरनाम सिंहको पहलमा आयोजित कार्यक्रमको सञ्चालन स्वास्रिका बिष्टले गरेकी थिइन्। AISECS ले नेपालका बाढीपीडितलाई सहयोग जुटाउन अस्ट्रेलियामा रहेका विभिन्न समुदायलाई एउटै मञ्चमा ल्याएको जनाएको छ।

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) का अध्यक्ष विष्णु हमालले नेपाली बाढीपीडितका लागि अस्ट्रेलियास्थित विभिन्न समुदायले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।

“अस्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट गुरनाम सिंहको नेतृत्व, पहल र निरन्तर प्रयासप्रति हार्दिक आभार व्यक्त गर्दछु। भारतीय समुदायसहित व्यापक अस्ट्रेलियाली समुदायलाई जोडेर उहाँले अघि बढाउनुभएको यो पहलले संकटको समयमा नेपाललाई महत्वपूर्ण सहयोग र भरोसा दिएको छ,” हमालले भने।

उनका अनुसार AISECS ले सांसद, मेयर, काउन्सिलर, व्यवसायी तथा विभिन्न समुदायका अगुवालाई मानवीय अभियानमा जोडेको छ।

कोष संकलनमा सहयोग गर्ने क्रिकेट अस्ट्रेलिया, हार्टल्यान्ड मोटर्स चुलोरा तथा डिनर टिकट, र्‍याफल र लिलामीमार्फत योगदान गर्ने सबैलाई AISECS का अध्यक्ष गुरनाम सिंहले धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रममा Julia Finn MP, Ash Ambihaipahar MP तथा Councillor Sameer Pandey लगायत राजनीतिक तथा सामुदायिक प्रतिनिधिको सहभागिता थियो।

नेपाली समुदायका तर्फबाट नेपालका न्यू साउथ वेल्सका पूर्व अवैतनिक वाणिज्यदूत दीपक खड्का, लिबरल पार्टी अफ अस्ट्रेलियाका नेता बिनोद पौडेल, NKSSP का संस्थापक अध्यक्ष सुजाता बस्नेत, GSNMC उपाध्यक्ष उमेश पन्त, NRNA Australia सचिव कल्याण खड्का, NRNA NSW संयोजक उषा किरण बरिया पोखरेल, नारी निकुञ्ज अस्ट्रेलिया NSW संयोजक आशा श्रेष्ठ, समुदायका अगुवा बिकेन्द्र अधिकारी, समाजसेवी सपना हमाल, ANJA संस्थापक अध्यक्ष हेमन्त काफ्ले, ANJA अध्यक्ष कृष्ण तिवारी तथा कार्यसमिति सदस्य एवं सल्लाहकार डा. राजु मानन्धरलगायत सहभागी थिए।

कार्यक्रममा नेपाली कलाकार जेनीषा गौतम र उनका छोरीहरूले मंगलाचरण प्रस्तुत गरेका थिए। नेपाली तथा अस्ट्रेलियाली समुदायका कलाकारले देशभक्ति तथा प्रेरणादायी गीतमा सांस्कृतिक प्रस्तुति दिएका थिए।

नेपालका बाढीपीडितका लागि आयोजित कार्यक्रमले अस्ट्रेलियामा रहेका विभिन्न समुदायबीचको सहकार्य र मानवीय ऐक्यबद्धता प्रदर्शन गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु