Monday, September 21, 2026
Zenith Migration Education
Monday, September 21, 2026

एसियाडमा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिएर हुँदैन : युवराज लामा

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् । 

कराँते खेलका टीम लिडरसमेत रहेका लामाले पदक अपेक्षा गर्नुअघि नै नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर समीक्षा आवश्यक रहेको औंल्याएका हुन् ।

सोमबार विहान सामाजिक संजालमा प्रतिक्रिया लेख्दै उनले भनेका छन्,‘ २०औँ एसियन गेम्समा सहभागी सबै देशका खेलाडीहरू आ–आफ्नो देशको क्षमता, हैसियत, चेतना, खेलकुद नीति र तयारीअनुसार उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न आएका हुन्छन्। उनीहरूको उद्देश्य खेल जित्नु र पदक प्राप्त गर्नु मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्नु, नयाँ कुरा सिक्नु र भविष्यका लागि आफूलाई अझ सक्षम बनाउनु पनि हो,’ उनले अगाडि लेखेका छन्,‘ तर हामी नेपालीले भने बल्ल राष्ट्रिय टिम तयारीको अवधारणालाई व्यवस्थित र संस्थागत रूपमा विकास गर्ने चरणमा प्रवेश गर्दैछौँ। त्यसैले कुनै खेलका खेलाडीले अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्न नसके वा पदक प्राप्त गर्न नसकेको अवस्थामा खेलाडीलाई मात्र दोषी देखाउनु उचित हुँदैन।’

पदक अपेक्षा गर्नुअघि नै नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर समीक्षा आवश्यक रहेको उनको धारणा छ ।

विशेषगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नेतृत्व र कार्यशैली, सरकारको खेलकुद क्षेत्रमा लगानी, नेपाल ओलम्पिक कमिटीको भूमिका, राष्ट्रिय खेल संघहरूको जिम्मेवारी, राजनीतिक दलहरूको खेलकुदमा हुने हस्तक्षेप तथा राखेपका कर्मचारीहरूको भूमिका र प्रवृत्ति लगायतका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने लामाको धारणा छ ।

‘खेलाडीले मैदानमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्ने हो। तर खेलाडी तयार पार्ने प्रणाली, वैज्ञानिक प्रशिक्षण, प्रशिक्षकको विकास, अन्तर्राष्ट्रिय एक्सपोजर, खेल विज्ञान, पूर्वाधार, आर्थिक व्यवस्थापन र दीर्घकालीन राष्ट्रिय खेलकुद नीतिको जिम्मेवारी सम्बन्धित निकायहरूको हो। त्यसैले २०औँ एसियन गेम्सलाई केवल कति पदक जित्यौँ भन्ने प्रश्नमा सीमित नगरी, हामीले कस्तो राष्ट्रिय टिम तयार गरिरहेका छौँ, हाम्रो खेलकुद प्रणाली कहाँ छ र आगामी पुस्ताका लागि कस्तो संरचना निर्माण गर्दैछौँ ? भन्ने प्रश्नका रूपमा पनि हेर्न आवश्यक छ,’ लामाले लेखेका छन् ।

उनले नेपालको समग्र खेलकुद संरचना, नीति, नेतृत्व, लगानी, व्यवस्थापन र कार्यशैलीको निष्पक्ष समीक्षा गर्दै आवश्यक ठाउँमा पुनर्संरचना र सुधार गर्नु अपरिहार्य रहेको औंल्याउँदै आजको समीक्षा र सुधारले नै भोलिको बलियो नेपाली राष्ट्रिय टिम निर्माण गर्नेछ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु