काठमाडौँ । जेनजी प्रदर्शनकारीहरुले संसद् विघट, सामूहिक राजीनामा र अन्तरिम सरकार गठनको माग गरेको छन् । जेनजीले ८ सेप्टेम्बर (भदौ २३ गते) सोमबार भएको रक्तपातपछि सरकार र राजनीतिक दलविरुद्ध तीव्र प्रतिवाद सार्वजनिक गर्दै सो माग राखेका हुन् ।
“यो क्रान्ति प्रत्यक्ष’’ देखाइन शीर्षकमा जारी विज्ञप्तिमा उनीहरूले सरकारलाई अस्वीकार गर्दै संसद् र नेतृत्व हटाउने अभियान सुरु भएको घोषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “तपाईंहरूले बालबालिका र युवामाथि गोली चलाउन हिचकिचाएनौँ । हामीले देख्यौँ–सङ्कटमा परेका विद्यार्थी, युनिफर्ममाथि लागेको गोली र रगत । यो सब हामी बिर्सने छैनौँ । तपाईंहरूको समय सकियो, हामी तपाईंहरूको नेतृत्व अस्वीकार गर्छौं ।”
जेनजेडले गैरसम्झौतावादी मागहरू सार्वजनिक गरेको छ ।
पहिलो, संसद् तुरुन्त विघटन गर्नुपर्नेछ । जनप्रतिनिधिको नाममा बसेका व्यक्तिहरू अब जनताको विश्वासको योग्य छैनन् ।
दोस्रो, सबै सांसदहरूले सामूहिक राजीनामा दिनुपर्नेछ । व्यवस्था असफल भएको प्रमाणित भएकाले सामूहिक जिम्मेवारी आवश्यक ठहरिन्छ ।
तेस्रो, युवाविरुद्ध गोली चलाउने वा हिंसात्मक दमन आदेश दिने क्रममा संलग्न वरिष्ठ अधिकारीहरूलाई तत्काल निलम्बन गर्नुपर्नेछ । दोषीलाई कारबाही नगरी न्याय सम्भव छैन ।
चौथो, जेनजेडले सिफारिस गर्ने नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्नेछ। त्यो सरकार आन्दोलनकारी पुस्ताको विश्वासमा आधारित हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पाँचौँ, अन्तरिम सरकारको नेतृत्वमा शीघ्र निर्वाचन गरिनुपर्छ, ताकि जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकार तत्काल प्रयोग गर्न सकून् ।
विज्ञप्तिमा भनिएको छ, ‘‘संसदले जनताको विश्वास गुमाइसकेको छ र अब प्रतिनिधित्व गर्न सक्दैन ।’’ आन्दोलनकारीहरूले चेतावनी दिँदै भनेका छन्, “प्रत्येक जीवनको हानि र चुरिएको प्रत्येक सपनाको लागि हामी अझ ठूलो स्वरमा बोल्छौं। तपाईंहरूले वाचा गर्नुभएको लोकतन्त्र सत्तावंशमा परिणत भयो । अब यो चक्र टुङ्गिएको छ ।”
जेनजी आन्दोलन दोस्रो दिन थप उग्र बनेको छ। शीर्ष नेताका घर र कार्यालयहरूलाई लक्षित गरी आगजनी र तोडफोड भइरहेको छ । पहिलो दिन सरकारले चलाएको गोलीबाट डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएसँगै आन्दोलन झन् आक्रामक बनेको हो ।




