Sunday, August 23, 2026
Zenith Migration Education
Sunday, August 23, 2026

मन्त्रीहरू सिमरा नआएपछि गरिमाका परिवार काठमाडौं ल्याइए

Zenith Migration Education

बारा — तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै सिमरामा चौथो दिन पनि प्रदर्शन जारी रहेका बेला पीडित परिवारलाई गृहमन्त्री सुदन गुरुङसँग वार्ता गराउने भन्दै प्रहरीले काठमाडौं ल्याएको छ।

पीडित परिवार र स्थानीयले गृहमन्त्री गुरुङ तथा कानुनमन्त्री सोबिता गौतम स्वयं सिमरा आएर परिवारसँग छलफल गर्नुपर्ने माग गर्दै आएका थिए। आन्दोलनस्थलमै पुगेर परिवारका कुरा सुन्नुपर्ने माग भइरहेका बेला पीडित परिवारलाई एकाएक काठमाडौं लगिएपछि सरकारको कार्यशैलीप्रति स्थानीयले प्रश्न उठाएका छन्।

चौथो दिनसम्म पनि सिमरामा धर्ना र प्रदर्शन जारी छ। परिवारलाई काठमाडौं ल्याए पनि स्थानीयले आन्दोलन रोकेका छैनन्। गरिमाको न्यायका लागि स्थानीयको सहभागितामा प्रदर्शन तथा सडक धर्ना जारी रहेको छ।

पीडित परिवारले दोषीलाई कडा कानुनी कारबाही, घटनाको निष्पक्ष अनुसन्धान र घटनासँग जोडिएका प्रहरीको भूमिकामाथि छानबिनको माग गर्दै आएको छ। यसअघि प्रशासन र राजनीतिक दलका प्रतिनिधिबीच भएको पाँचबुँदे सहमतिप्रति समेत परिवारले असहमति जनाउँदै आएको थियो।

यसैबीच, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउने काममै प्रशासन केन्द्रित रहेको बताएका छन्। उनका अनुसार घटनाको अनुसन्धानलाई निष्पक्ष रूपमा अघि बढाउँदै पीडित परिवारलाई न्याय दिलाउन प्रशासनले आवश्यक पहल गरिरहेको छ।

पीडित परिवारलाई काठमाडौं ल्याइएसँगै अब गृहमन्त्रीसँग हुने वार्तामा उनीहरूका माग कसरी सम्बोधन हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। तर, स्थानीयले भने सम्बन्धित मन्त्रीहरू नै सिमरा आएर पीडित परिवार र आन्दोलनरत पक्षसँग प्रत्यक्ष छलफल गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

सरकारले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरे पनि घटनास्थलमै पुगेर पीडित परिवार र स्थानीयको गुनासो सुन्नुपर्ने माग सम्बोधन नभएको भन्दै सरकारमाथि दबाब थपिएको छ।

सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु