बारा — कलैया उपमहानगरपालिका–१ कटीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल बिहान सकुशल फेला परेकी छन्। बालिका हराएको सूचना पाएपछि बारा प्रहरीले रातभर व्यापक रूपमा खोजी अभियान सञ्चालन गरेको थियो।
वचन न्युजसँग कुरा गर्दै एसपी नरेन्द्र कुँवरले बालिकाको खोजीका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको बताए।
‘सूचना पाएपछि मेरो नेतृत्वमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेका थियौँ। म आफैं पनि सम्भावित ठाउँहरूमा पुगेर खोजतलास गरेँ। तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्यौँ,’ एसपी कुँवरले भने, ‘बिहान सबेरै बालिका फेला परेको सूचना पाउनु खुसीको कुरा हो।’
बालिका सकुशल फेला परे पनि घटनाको विषयमा अनुसन्धान जारी रहेको कुँवरले बताए। बालिका कसरी हराइन् भन्ने विषयमा समेत प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ।
सुरक्षा व्यवस्थामा कुनै पनि सम्झौता नगरी जिल्लावासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन बारा प्रहरी सक्रिय रहेको उनले बताए। आम नागरिकको प्रहरीप्रतिको विश्वास कायम राख्दै सुरक्षा व्यवस्था थप मजबुत बनाइरहेको उनको भनाइ छ।
यसैबीच, केही दिनअघि बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनापछि पुनः सानी बालिका हराएको खबर सार्वजनिक भएपछि स्थानीयस्तरमा बालबालिकाको सुरक्षाबारे चिन्ता बढेको छ।
बालिका सकुशल फेला परेपछि परिवार तथा स्थानीयमा भने राहत मिलेको छ। प्रहरीले घटनाको अनुसन्धानलाई निरन्तरता दिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाउने जनाएको छ।
सिमा ठकुरी, बारा



