सिड्नी (अष्ट्रेलिया) । बर्वुड पार्कमा आइतबार Walk to End Domestic Violence कार्यक्रम सम्पन्न भएको छ । बर्वुडमा हत्या भएकी २१ वर्षीया युवती सियाओटिङ वाङको सम्झनामा बर्वुड काउन्सिल र स्ट्राटफोर्ड काउन्सिलको संयुक्त आयोजनामा बर्वुड पार्कमा पैदल यात्राद्वारा कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा प्रहरी, काउन्सिल, विभिन्न सेवा प्रदायक संस्था, स्थानीय बहुसांस्कृतिक समुदाय तथा प्रतिनिधिहरू सहभागी थिए ।
कार्यक्रममा बर्वुड प्रहरी क्षेत्रीय कमाण्डकी कमाण्डर क्रिस्टिन म्याकडोनाल्डले घरेलु तथा पारिवारिक हिंसाविरुद्ध कडा सन्देश दिँदै समाजका सबै तहलाई सचेत रहन आह्वान गरिन् ।

“यी नामहरू हामीले कहिल्यै बिर्सनु हुँदैन । घरेलु र पारिवारिक हिंसाको हाम्रो समाजमा कुनै ठाउँ छैन,” उनले भनिन् । “यदि तपाईं आफैं हिंसा पीडित हुनुहुन्छ वा कसैलाई पीडित देख्नुभएको छ भने उनीहरू कहिल्यै पनि एक्लो हुनुहुँदैन । सबैलाई सुरक्षित महसुस हुने वातावरण सिर्जना गर्न आवश्यक छ ।”
उनले अष्ट्रेलियामा घरेलु तथा पारिवारिक हिंसा स्पष्ट अपराध भएको उल्लेख गर्दै थपिन्, “तपाईं जहाँबाट आए पनि फरक पर्दैन । आफ्नो जोडीमाथि कुटपिट गर्न सकिँदैन, आर्थिक, भावनात्मक, शारीरिक वा यौन दुर्व्यवहार गर्न पाइँदैन । अष्ट्रेलियाले यसलाई अस्वीकार गर्छ र हामी पनि यसलाई कहिल्यै सहन गर्ने छैनौं ।”
यसै अवसरमा बर्वुड काउन्सिलकी काउन्सिलर सुकृति भट्टले नेपाली समुदायलाई समेत सक्रिय सहभागिता गराउँदै अभियानलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरिन् । उनले भनिन्, “यो सानो प्रयास समानता देखाउनका लागि हो—घरेलु हिंसा अन्त्य गर्न हामी सबै एकै ठाउँमा छौं । यो केवल कुनै एक समुदायको समस्या होइन, बहुसांस्कृतिक समुदायकै सरोकार हो । नेपाली समुदायमा पनि यो गम्भीर समस्या बनेको छ, जसलाई तत्काल समाधान गर्नु आवश्यक छ ।”

उनले समुदाय र संस्थाहरू मिलेर अघि बढे परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै भनिन्, “घरेलु तथा पारिवारिक हिंसा अन्त्य गर्नु हाम्रा सबैको जिम्मेवारी हो । हामी सबैले एउटै कदम, एकपटकमा चाल्दै अघि बढ्नुपर्छ ।”
कार्यक्रममा बर्वुड काउन्सिलका मेयर जोन फेकर, संसद सदस्य स्याली सिटो (रीड निर्वाचन क्षेत्र), तथा स्ट्राथफिल्डका सांसद जेसन याट–सेन ली लगायतका जनप्रतिनिधिहरूले पनि समान धारणा राख्दै घरेलु तथा पारिवारिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्मृति कार्यक्रमपछि सहभागीहरूले पैदल यात्रा (Walk to End Domestic Violence) समेत सम्पन्न गरेका थिए ।














