Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

अष्ट्रेलियाको कार्बन उत्सर्जनमा उल्लेखनीय गिरावट

Zenith Migration Education

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जन सन् २०२५ को मार्च महिनासम्मको एक वर्षमा १.४ प्रतिशतले घटेको सरकारी प्रतिवेदनले देखाएको छ ।

जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा जल मन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार अष्ट्रेलियाले सन् २०२५ को मार्चसम्मको १२ महिनामा ४४०.२ मिलियन टन कार्बन डाइअक्साइड समतुल्य ग्यास उत्सर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४४६.७ मिलियन टनभन्दा कम हो ।

यो तथ्याङ्क अनुसार सन् २००५ को तुलनामा हालको उत्सर्जन २८ प्रतिशतले घटेको छ। अष्ट्रेलियाले पेरिस सम्झौताअन्तर्गत सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तिमा ४३ प्रतिशत उत्सर्जन कटौती गर्ने लक्ष्य लिएको छ।

जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले एक विज्ञप्तिमा भने, ‘‘यदि हामी हालको मार्गमा अडिग रह्यौं भने उत्सर्जन घटाउने हाम्रो लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसका लागि हामीले अझै प्रयास जारी राख्न आवश्यक छ ।’’

उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, विद्युतीय उत्पादन, औद्योगिक प्रक्रिया तथा स्थायी ऊर्जाका क्षेत्रहरूबाट उत्सर्जनमा कमी आएको हो । यसमा प्रविधिको सुधार, उत्पादनमा आएको परिवर्तन तथा घरायसी ग्यासको खपतमा कमी मुख्य कारण मानिएको छ।

प्रतिवेदनमा समावेश प्रारम्भिक तथ्याङ्क अनुसार, २०२५ को जून महिनासम्मको एक वर्षमा उत्सर्जन थप घटेर ४३६ मिलियन टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २।१ प्रतिशत कम हो । यो सन् २००५ को तुलनामा २९ प्रतिशतको गिरावट हो ।

सरकारले सन् २०३५ को उत्सर्जन कटौती लक्ष्य निर्धारणको तयारी गरिरहेका बेला यो तथ्याङ्क सार्वजनिक गरिएको हो। जलवायु परिवर्तन प्राधिकरण ९सीसीए० ले आगामी असोज महिनामा सन् २०३५ को लागि आवश्यक लक्ष्यबारे औपचारिक सल्लाह दिने अपेक्षा गरिएको छ।

सीसीएले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा सन् २०३५ सम्ममा अष्ट्रेलियाले २००५ को तुलनामा कम्तिमा ७५ प्रतिशत उत्सर्जन कटौती गर्नुपर्ने सुझाव दिएको थियो, जसले विश्वको तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्न मद्दत पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु