काठमाडौँ । हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था दुई दिन बन्द गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो ।
पछिल्लो केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।
ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको सङ्क्रमण फेला परेको हो ।



