Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पदान गर्न गृहमन्त्रीको निर्देशन

Zenith Migration Education

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उनले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने भन्दै उनले मानवअधिकारको संरक्षण एवं संवर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवं ज्येष्ठ नागरिकविरुद्ध हुने गतिविधिप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिए ।

“सडक दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध चुनौतीका रूपमा देखापरेकाले सोको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेछ”, उनले भने, “प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर छ ।” उनले गुण्डागर्दी र बिचोलियालाई निस्तेज पार्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

“प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन शिष्ट आचरण÷व्यवहारका साथ सेवाग्राहीको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्छ”, उनले भने, “शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन ।”

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे । “उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु”, उनले भने, “प्रहरीको कार्यसम्पादन सरकारसित जोडिएको विषय पनि हो ।”

त्यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथै विपद् व्यवस्थापनमा समेत काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोत साधानका बीच पनि उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताए । उनले शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु