Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

‘संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छ’

Zenith Migration Education

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार ३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले संविधानले आदिवासी जनजातिलाई धेरै अधिकार दिएकाले यसको संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले आदिवासी जनजाति समुदायको हकअधिकारका बारे कांग्रेसको घोषणापत्रमा भएको कुरा सरकारमा हुँदा कांग्रेसले कार्यान्वयनमा लगेको समेत बताए ।

उनले मुलुकको नीति निर्माण गर्ने थलोमा आदिवासी जनजातिको उल्लेखनीय उपस्थिति रहेको भन्दै यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने बताए । प्राप्त अधिकारको महत्व बुझेर संस्कार, संस्कृति र परम्परालाई नबिर्सिकन समयले मागअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकले आदिवासी जनजातिको हकअधिकारको सुनिश्चित र समग्र विकासका लागि आदिवासी दिवसले सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले वर्तमान संविधानले देशमा रहेका सबै जातजाति, भाषा, धर्म, लिङ्गलाई समेटेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले नेपालमा भएका क्रान्ति र लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिले खेलेको भूमिका अतुलनीय रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपालमा प्रजातन्त्र स्थापना गर्न आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । संविधान रक्षाका लागि आदिवासी जनजातिहरु जुट्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

महाङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको हकलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताए । उनले आदिवासी जनजाति महासङ्घले कांग्रेसमा पाँच लाख सदस्य थप्न आवश्यक रहेको उल्लेख गरे । कांग्रेसले आदिवासी जनजातिसम्बन्धी दिएको अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु