सिड्नी (अष्ट्रेलिया) । अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को सल्लाहकारमा कृष्ण गिरी नियुक्त भएका छन् ।
महेश श्रेष्ठ नेतृत्वमा रहेको समूहले आइतबार सम्पन्न गरेको बैठकबाट गिरीलाई सर्वसम्मत रुपमा आइसीसीको सल्लाहकारमा नियुक्त गरेको हो । सल्लाहकारमा नियुक्त भएका गिरी सक्रिय समाजसेवी एवम् अभियन्ता समेत हुन् ।
लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायको सेवामा समर्पित गिरी प्रवासी नेपालीका मुद्दा, सामाजिक अभियान तथा संस्थागत सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
एनआरएनएको विविध तहमा पुर्याउँदै आएको योगदान, संस्थाको समावेशिता, प्रभावकारिता र दीर्घकालीन सुदृढीकरणमा गिरीको महत्त्वपूर्ण योग्दान रहेको बताइन्छ । नियुक्तिपछि प्रतिक्रिया दिँदै गिरीले एनआरएनएलाई अझ समावेशी, परिणाममुखी र विश्वसनीय संस्थाको रूपमा अगाडि बढाउन आफूले सक्दो योगदान दिने प्रतिबद्धता जनाएका छन् ।
“एनआरएनए विश्वभरि छरिएर रहेका नेपालीहरूको साझा सङ्गठन हो,” गिरीले भने, “यसलाई सबल, पारदर्शी र उत्तरदायी बनाउने हाम्रो सामूहिक दायित्व हो ।”



