काठमाडौँ । सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको दाबी गरेका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरुले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्न जरुरी रहेको बताए ।
उनले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरुको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरुको नै रहेको जिकिर गरे । उनले राजनीतिक दलहरुले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भूमिका खेल्न जरुरी रहेको बताए ।
सभामुख घिमिरेले भने, ‘‘आधुनिक लोकतन्त्रको विकल्प मलाई लाग्छ केही छैन तर यो भइरहेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि खेल्नुपर्ने भूमिका खेल्ने कोशिसहरु राजनीतिक दल बाहेक अरु के हुनसक्छ ? राजनीति, धार्मिक संघसंस्थाहरु, अन्य सामाजिक प्रभावकारी संघसंस्थाहरु, वा विभिन्न खालका विगतका केही धार्मिक राजतन्त्र, परम्परागत राजतन्त्र भएका मुलुकहरु यिनीहरुका शक्तिहरु होइनन् । वास्वतमा राजनीतिक शक्तिबाट यो मुलुकलाई परिवर्तन गरेर राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गरेर विभिन्न बाटो हुँदै आएका विभिन्न राजनीतिक दलहरु नै यसका महत्वपूर्ण मेरुदण्ड हुन् ।’’
सभामुख घिमिरेले राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । आजको आवश्यकता पूरा गर्ने नेतृत्व निर्माणमा राजनीतिक दलहरु जानुपर्ने बताउँदै उनले इमान, निष्ठा, समर्पण आज खड्किएको बताए ।



