सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य संयोजक पदका लागि रोशन भट्टराईले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। विगत लामो समयदेखि शैक्षिक परामर्श तथा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहेका भट्टराईले आफ्नो उम्मेदवारीबारे वचन न्युजसँग कुरा गर्दै यसपटक चुनावी मैदानमा उत्रनु निकै योजना र तयारीसहित भएको बताएका छन्।
उनका अनुसार, “यो उम्मेदवारी आकस्मिक होइन। समुदायलाई संगठित, पारदर्शी र उत्तरदायी नेतृत्व दिने उद्देश्यले तयारीसहित अघि बढेको हुँ।” भट्टराईले आफ्नो समूहमा रहेका सदस्यहरूको नाम पनि चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।
यसपटक एनएसडब्लु संयोजक पदमा रोशन भट्टराई मात्र होइन, कोमल पाठक तथा एकता समूहतर्फबाट उषा बारिया पोखरेल, राकेश जोशी लगायत ड्यासपोरा नेपाली समुदाय माझ सक्रिय युवा अगुवाहरूले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। अन्य केही सम्भावित उम्मेदवारको चर्चा पनि समुदायमा चलिरहेको छ।
चुनावी प्रतिस्पर्धा चुलिँदै जाँदा राजनीतिक प्रभाव र ध्रुवीकरण देखिन थालेकोप्रति केही समुदाय अगुवाहरूले चासो व्यक्त गरेका छन्।
उनीहरू भन्छन्, “बिसुद्ध सामाजिक सेवामा समर्पित संस्था – एनआरएनएलाई राजनीतिक मञ्च बनाउन नहुने हो। संस्थाको मूल उद्देश्य परोपकार, सहभागिता र नेपाली पहिचान जोगाउनु हो, न कि राजनीतिक विस्तार।”
एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचन जुलाई २६, २०२५ मा हुन गइरहेको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय हुँदै गएका छन्। टिम घोषणादेखि नीति कार्यक्रम र सार्वजनिक बहसहरूमा सहभागिता बढ्दो छ।
एनआरएनए एनएसडब्लु संयोजक पदका लागि प्रतिस्पर्धा बढ्दै जाँदा समुदायको आशा–अपेक्षा पनि थपिएको छ। सदस्यहरूले नाफा–हानि भन्दा माथि उठेर समर्पित नेतृत्व चयन गर्नुपर्ने आवाज उठाइरहेका छन्।



