प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरूबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३१) लाई बैंकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरूको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायु परिवर्तनका लागि विश्व समुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।



