नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
१८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए ।
पूर्वप्रधानमन्त्रीमाथि नेपालको इतिहासमा पहिलोपटक भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । नेपाल प्रधानमन्त्री हुँदा पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । मन्त्रिपरिषद्बाट हदबन्दी छुटमा पाएको जग्गा मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको थियो ।
यही प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । प्रधानमन्त्री नेपाल रहेका बेला पतञ्जलीलाई हदबन्दीमा जग्गा खरिद गर्न १८ माघ २०६६ मा मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । पछि फेरि ६ चैत २०६६ मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त जग्गा बेच्न स्वीकृति दिएको थियो ।
यसबारे रौतहटमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’



