Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको कीर्तिमानी जित

Zenith Migration Education

आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा करण केसीको अन्तिम क्षणको विस्फोटक ब्याटिङले नेपाललाई ऐतिहासिक जित दिलाएको छ । सोमबार स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले घरेलु टोलीलाई १ विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिजको पहिलो खेल आफ्नो पक्षमा पारेको हो ।

२९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित निकालेको हो । नेपाललाई जितका लागि एक रन आवश्यक हुँदा स्कटिस बलर मार्क वाटले वाइड दिएपछि नेपालले नाटकीय तरिकाले खेल जित्यो ।

तल्लोक्रमका ब्याटर करण केसी खेलको निर्णायक नायक बने । उनले ४१ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले ११ चौका प्रहार गर्दै ४४ बलमा ५३ रनको योगदान दिए । अर्का ओपनर आसिफ शेखसँग उनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । आसिफले २० रन बनाए ।

मध्यक्रममा गुलशन झाले ३० बलमा ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन जोड्दै महत्वपूर्ण योगदान गरे ।

स्कटल्याण्डका ब्रेण्डन मक्कमुलनले ३ विकेट लिए । माइकल लिस्क र ज्याक जार्भिसले २/२ तथा जसपर डेभिडसनले १ विकेट हात पारे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । चार्ल्स टिएरले सर्वाधिक ८० रन जोडे भने फेन्ली म्याक्रिथले ५५ रन बनाए । कप्तान बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९ र माइकल लिस्कले १८ रनको योगदान दिए । नेपालका करण, सोमपाल र रिजन ढकालले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

यो जितसँगै नेपाल लिग टु को पुछारबाट सातौं स्थानमा उक्लिएको छ । १३ खेलमा ८ अंक जोडेको नेपाल अब शीर्ष चारमा पर्न विश्वकप ग्लोबल छनोटको दौडमा पुनः सक्रिय भएको छ ।

१७ खेलमा २० अंक रहेको स्कटल्याण्ड भने चौथो स्थानमा यथावत् छ । सिरिजको तेस्रो टोली नेदरल्याण्ड्स रहेको यस त्रिकोणात्मक श्रृंखला विश्वकप २०२७ को छनोटका लागि निर्णायक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु