Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

‘धैर्यको जित’ : ग्रेस एफसीले एएनएफए समर लिग जित्दै नयाँ इतिहास रच्यो

Zenith Migration Education

सिड्नी, ३१ मे २०२५ — नर्डफोर्ड पार्क, चेस्तरहिल मा शनिबार दिउँसो सम्पन्न सिड्नी एभरेस्ट समर लिग २०२५ को उपाधि खेलमा ग्रेस एफसी (Grace Nepali Diaspora Community) ले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी क्याम युथ फुटबल क्लब (Cam Youth Football Club) लाई ४–३ ले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ।

सन् २०२१ मा स्थापना भएको ग्रेस एफसीको यो पहिलो ठुलो उपाधि हो। लिगको अघिल्लो चरणमै यही प्रतिद्वन्द्वीसँग ५–३ ले पराजित हुनुपरेको स्मरणीय हारको बदला उपाधि फाइनलमै मीठो शैलीमा चुकाउँदै, क्लबले आत्मबल, धैर्य र प्रतिबद्धताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्‍यो।

विगत चार वर्ष लगातार प्लेअफसम्म पुगेर पनि अन्तिम समयमा असफल हुँदै आएको यो टोलिले यसपटक आफ्नो ‘संघर्ष कथा’लाई ‘विजयी इतिहास’मा रूपान्तरण गर्न सफल भयो। साथै, क्लबले यस जितसँगै आगामी जीएनसी माइनर लिग (GNC Minor League) मा सहभागिता सुनिश्चित गर्दै अर्को ठूलो यात्राको ढोका पनि खोलेको छ।

विजयको घोषणापछि क्लबले सामाजिक सञ्जालमा लेखेको सन्देश अझै भावनात्मक थियो—

“जसले दुःख साट्छ, उसले पीडा कम गर्छ। जसले खुसी साट्छ, उसले त्यो अझ बढाउँछ।”

यो जित मैदानमा रहेका खेलाडीहरू मात्र होइन, परिवारजन, समर्थक र चर्च समुदायका सदस्यहरूका लागि पनि गहिरो प्रेरणा र गर्वको क्षण बन्यो।

“ग्रेस एफसी केवल टिम होइन—भाइचाराको परिवार हो”

ग्रेस एफसीका संयोजक सिमोन भाट भन्छन्, “ग्रेस एफसी केवल फुटबल टिम होइन—यो भाइचाराको परिवार हो।”
उनका अनुसार, अष्ट्रेलियामा स्थापना भएको पहिलो नेपाली इसाई फुटबल क्लबको रूपमा, ग्रेस एफसीले विभिन्न चर्च समुदायहरू र गैर-इसाई पृष्ठभूमिबाट आएका दाजुभाइहरूलाई एउटै झण्डामुनि संगठित गर्दै आएको छ।

क्लबको मूल मन्त्र—मैत्री, प्रेरणा र आत्मबल हो। यहाँ खेलाडीहरू सँगै प्रार्थना गर्छन्, सँगै खेल्छन्, र एक-अर्कालाई हौसला दिँदै अघि बढ्छन्। फुटबल केवल खेल नभई, विश्वासको अभ्यास पनि हो भन्ने दर्शन क्लबले आत्मसात् गर्दै आएको छ।

“तपाईं जे गर्नुहुन्छ, सबै कुरा परमेश्वरको महिमाका लागि गर्नुहोस्।”
– १ कोरिन्थी १०:३१

ग्रेस एफसीको यो उपाधि केवल जितको प्रमाण होइन—धैर्य, आस्था र एकताको बलमा अगाडि बढ्न सकिने अद्भुत उदाहरण हो। नेपाली डायस्पोरा समुदायभित्रको यो समर्पण, संगठित प्रयास र विजयी यात्राले आगामी पुस्ताहरूलाई पनि फुटबलसँगै विश्वास र सामूहिकताको महत्व सम्झाउनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु