गैर आवासीय नेपाल संघ उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले अष्ट्रेलियाको सिड्नी शहरबाट एकताको महाधिवेशनका लागि भेटघाट एवम् छलफल सुरु गरेका छन् । १२ मार्च बुधवार सिड्नीमा भएको सो कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष एवम् कार्यसमितिका पदाधिकारीहरु, एनआरएनएका पूर्व एवम् वर्तमान पदाधिकारी, सदस्यहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयसँगको समन्वय अनुरुप एकताको महाधिवेशनका लागि उच्चस्तरीय समितिले कार्य गरिरहेको समितिका संयोजक डा. घलेले बताए । ३१ मार्चसम्म सदस्यता लिन अनुरोध गर्दै डा. घलेले अप्रिलमा खुल्ने प्रतिनिधिका लागि नाम दर्ता गराई मे ३,४ र ५ मा काठमाडाैंमा हुने महाधिवेशनमा भाग लिन सबैलाई अनुरोध गरे । करिब ४ घण्टासम्म चलेको अन्तक्रियामा सोधिएका जिज्ञासाको जवाफ दिँदै घलेले प्राप्त सुझावलाई सकारात्मक रुप लिएको बताए । एनआरएनए सदस्यता लिने भन्नाले एनआरएन एक्ट अन्तर्रगत परराष्ट्रमा दर्ता भएको संस्थाको सदस्यता लिने हो तसर्थ सदस्यता प्राप्त गरिसकेका सबै सदस्यहरुको अधिकारभित्र महाधिवेशनको प्रतिनिधि हुने र भाग लिन पाउने कुरालाई उच्चस्तरीय समितिले सुनिश्चित गरेको उनले बताए ।
सो कार्यक्रम एनआरएनए आईसीसीका पूर्व यूवा संयोजक एवम् आरके महेश एनआरएनए समुहका उपमहासचिव कृष्ण गिरीले सञ्चालन गरेका थिए । गिरीले संस्था सञ्चालनका क्रममा विवाद आएमा न्यायलयबाट आउने आदेशको पालना गर्नुनै अन्तिम विकल्प हुने बताए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उच्चस्तरीय समितिलाई सबै एनसीसीहरु मिलेर सहयोग गर्नुपर्ने धारणा राखे । एमआईएसबाट वितिरण हुने सदस्यतामा एनसीसीहरुले प्रमाणीकरण गर्न सकिने अधिकार भएकाले सो प्रविधिलाई उच्चस्तरीय समितिको माताहतमा ल्याएर वितरण गर्दा सहज हुने सुझाव दिए ।

उच्चस्तरीय समितिको कार्यबारे प्रकाश पार्दै पुर्वअध्यक्ष गणेश केसीले यस्ता कामले थप उत्साहित पारेको बताए । केसीले डा. घले लगायत उच्चस्तरीय समितिलाई पूर्णरुपले साथ समर्थन गर्न सबैलाई आव्हान गर्दै सबैलाई मिलाएर जान सुझाव दिए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अर्का पूर्वअध्यक्ष ध्रुव सुवेदीले वर्तमान परिस्थितिमा उच्चस्तरीय समितिले महाधिवेशन गर्नु बहेक अन्य कुनै विकल्प नभएकाे बताए । उनले भने “सम्भव भएसम्म अधिकतम साथ लिएर प्रयास गर्ने हो तसर्थ तोकिएको समय सिमाभित्र कानुनले तोकिएबमोजिम एकताको महाधिवेशन गर्नुपर्छ ।” उनले थपे “टुक्रा टुक्रामा विभाजन भएको वर्तमान एनआरएनएलाई सही दिशामा ल्याउन सर्वोच्च अदालतले दिएको परमादेश अनुरुप बनेको उच्चस्तरीय समितिलाई काम गर्ने वातावरण दिनुपर्छ, हामी सबैले मिलेर बनाएको संस्था र भवन कसैले कब्जा गर्दैमा कार्य रोकिनु हुँदैन ।”
पुर्वअध्यक्ष नन्द गुरुङले काठमाडाैंमा ३,४ र ५ मा हुने महाधिवेशनमा भाग लिन सबैलाई अनुरोध गरे । एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले गैर आवसीय नेपाली संघ सबैको लामो संघर्ष, मिहिनेत र परिश्रमले गर्दा आजको दिनसम्म आईपुगेको हुनाले संस्थालाई बचाउन सम्भव भएसम्म लचकता अपनाएर निकास खोज्न समितिलाई सुझाव दिए । यद्धपि यो अवसर पनि भएकाले डा. घलेलाई साथ दिएर अघि बढ्न जोड दिए ।

कार्यक्रममा एनएसडब्लुका लागि वाणिज्यदूत सन्जिव शर्मा, एनआरएनए पूर्वसंरक्षक इन्द्र बन, भोमा लिम्बु, कुसल केसी, जानकी पौडेल, विमल भट्टराइ, इर्शाद अहमद, भिम खरेल, विशाल पोखरेल, अच्यूत थपलिया, शेषमणि पाठक, इथान शाक्य लगायत ५० जना भन्दा बढी व्यक्तिहरुले अन्तरक्रिया गरेका थिए । उच्चस्तरीय समितिका संयोजक घलेको होम कन्ट्री अष्ट्रेलिया भएकाले पनि यो कार्यक्रमको आयोजना र यहाँ भएका भ्रमहरुलाई चिर्न सहयोग पुगेको सहभागीहरुले बताए ।



