Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

कालिज ब्राउज एण्ड ब्यूटी: अष्ट्रेलियामा नेपाली चेलीको सफल व्यावसायिक यात्रा

Zenith Migration Education

ओबर्न, सिड्नी – ३८ वर्षकी लासाङ उर्फ काली तामाङ, जो ईटहरी तरहरामा जन्मिएकी हुन्, श्रीमान सोनी तामाङ र अढाई वर्षका छोरा रायनसहित २०१२ मा उज्ज्वल भविष्यको सपना बोकेर अष्ट्रेलिया आइपुगेकी थिइन्। प्रवासमा आएका धेरै नेपालीहरूझैं, उनले पनि सुरुका दिनहरूमा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्‍यो। क्लिनिङ, मानसिक स्वास्थ्य, सामुदायिक केयरजस्ता क्षेत्रमा काम गर्दै उनले संघर्ष गरिन्।

यस्ता चुनौतीहरूका बाबजुद पनि, नेपालमै सिकेको ब्यूटी पार्लरको सीपलाई व्यावसायिक रूपमा अघि बढाउने दृढता उनले कायम राखिन्। पाँच वर्षअघि उनले आफ्नै लगानीमा ‘कालिज ब्राउज एण्ड ब्यूटी’ नामक पार्लर इष्टर्न क्रीकमा स्थापना गरिन्। ग्राहकहरूको माया र साथ पाउँदै यो पार्लरले सफलताको बाटो समातेको थियो।

समुदायको माया र साथले हौसला पाएपछि, करिब दश हजार नेपालीको बसोबास रहेको सिड्नीको ओबर्न क्षेत्रमा नयाँ सुरुवात गर्ने उनी योजनामा थिइन्। यही क्रममा, गत आइतवार ओबर्नस्थित १५/१५ मकवारी रोडमा विशेष समारोह आयोजना गर्दै ‘कालिज ब्राउज एण्ड ब्यूटी’ पार्लरको भव्य उद्घाटन गरिन्।

उद्घाटन समारोहमा ओबर्न नेपाली समुदायका अध्यक्ष जितेन्द्र श्रेष्ठसहित विभिन्न नेपाली व्यक्तित्वहरूको उपस्थिति थियो। रिबन काटेर पार्लरको उद्घाटन गरिँदा व्यवसायले राम्रो आम्दानी र सफलता पाओस् भन्दै शुभचिन्तकहरूले शुभकामना व्यक्त गरे। अध्यक्ष श्रेष्ठले कालीद्वारा सञ्चालित यो व्यवसायलाई सबैले साथ दिन अपील पनि गरे।

काली बाल्यकालदेखि नै अरूको दुःख देख्न नसक्ने, साहसी र दयालु व्यक्तित्वकी नारी हुन्। अहिले पनि उनी काली नामले प्रख्यात छिन्। उनी भन्छिन्, “यो व्यवसाय रोजगारको श्रोत मात्र होइन, समुदायलाई माया र सहयोग गर्ने माध्यम बन्नेछ भन्ने विश्वास लिएकी छु।”

पार्लरका प्रमुख सेवामध्ये एक कसमेटिक ट्याटुहरू हुन्। कालीले पार्लरमा सबै नेपाली दिदीबहिनीहरूलाई सेवा लिन आउन र माया दिन आग्रह गरिन्। ओबर्न ट्रेन स्टेसनबाट मात्र तीन-चार मिनेटको पैदल दूरीमा रहेको यो पार्लरले विद्यार्थीहरूका लागि विशेष सहुलियत दिनेछ। साथै, गृहिणी, आमा, दिदीबहिनीहरूलाई सेवाशुल्कमा छुटको व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु