Monday, January 19, 2026
Zenith Migration Education
Monday, January 19, 2026

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक गोष्ठी (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौँ: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक गोष्ठी सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौती र समाधानलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता रिजालले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान र अभियोजनका लागि यस गोष्ठीमा भएको छलफल अत्यन्तै उपलब्धीमूलक भएको बताउनुभयो । साथै सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी
अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा देखिएका समस्या तथा चुनौतिलाई समाधान गर्न गोष्ठीमा भएको छलफल तथा अन्तरक्रिया फलदायी हुने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले समेत गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका उपनिर्देशक स्वरूप श्रेष्ठले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण मुद्दाको अनुसन्धानको क्रममा गर्नुपर्ने समन्वयकारी निकाय सम्बन्धी जानकारी, वित्तिय जानकारी ईकाइको भूमिका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल प्रहरी शाखा पुल्चोक ललितपुरका तर्फबाट प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी मुद्दाहरूको अनुसन्धान प्रक्रिया र पद्दतीहरूको सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले धन्यवाद मन्तव्य राख्नुभएको उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका निर्देशक दिर्घ बहादुर रावल, उच्च/ विशेष/ जिल्ला सरकारी वकिल कार्यालयका पदाधिकारीहरू तथा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी गोष्ठीमा नेपाल प्रहरीका विशिष्टिकृत ब्यूरोका प्रतिनिधिहरू, उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूका साथै जिल्ला प्रहरी कार्यालयहरू काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रसुवा र इलाका प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु