काठमाडौँ : आज मे १९, हो, आज कै दिन विश्वको ध्यान खिच्ने गरी सम्पन्न भएको बेलायतका तत्कालीन राजकुमार ह्यारी र मेगनबीच सम्पन्न विवाहको वर्षगाँठको दिन हो।
बेलायतको विन्डसोर क्यासलको सेन्ट जोर्जेज च्यापलमा भएको उक्त वैवाहिक समारोहमा विश्वभरिबाट करिब ६सय विशिष्ट पाहुना सहभागी भएका थिए । मेगन आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् भने ह्यारी दाजु विलियमसँगै समारोहस्थलमा पुगेका थिए ।
३३ वर्षीय ह्यारी र ३६ वर्षीया मेगनबीचको विवाह समारोहलाई टेलिभिजनमार्फत विश्वभरि प्रत्यक्ष प्रसारण गरिएको थियो । त्यस्तै, वैवाहिक समारोह भएको दरबारबाहिरको सडकमा दुईतर्फ उपस्थित करिब एक लाख जनताले खुसी विवाहको खुशी साटासाट गरेका थिए ।
ह्यारी र मेगनले २०१६ जुलाईदेखिको प्रेमलाई विवाहमा परिणत गर्दै वैवाहिक सम्बन्धमा गाँसिएका थिए।
अमेरिकी टेलिशृंखलाको अभिनयबाट चर्चामा आएकी मेगन हाल परोपकारी कार्यमा पनि संलग्न छिन्। ह्यारी र मेगनले २०२० जनवरीमा शाही उपाधि त्यागी सर्वसाधारण नागिरक जीवनयापन गर्दै आइरहेका छन् ।