हामी ‘अनुग्रह’ शब्दलाई बाइबलमा परमेश्वरको उपहारको रूपमा चित्रण गरिएको पाउँछौं। परमेश्वरको अनुग्रह नि:शुल्क उपहार हो जुन अयोग्य मानवजातिलाई दिइएको हो जसले उहाँको कृपामय स्वभावलाई दर्शाउँछ। हाम्रो परिश्रम, उपलब्धि वा कामहरुको कारणले गर्दा उहाँले हामीलाई प्रेम गर्नुहुन्न तर उहाँको कृपालु र अनुग्रही गुणहरुले गर्दा हामीले उहाँबाट अनुग्रह र प्रेम पाएका छौं (भजनसंग्रह ८६:१५) ।
पुरानो करारका केही घटनाहरुलाई नियाल्ने हो भने हामीले उहाँको अनुग्रही स्वभावलाई अझै राम्ररी बुझ्न सक्नेछौं । नोआको समयमा, जब पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो (उत्पति ६:५), तब उहाँ मनमा साह्रै दु:खित हुनुभयो र मानिसहरुलाई पृथ्वीबाट मेटिदिने निर्णय गर्नुभयो। त्यस समयमा उहाँको अनुग्रह नोआ र उहाँको परिवारमाथि भयो (उत्पति ६:८)। कहिलेकाहीँ विश्वासीहरूले अनुग्रहलाई नयाँ नियमको अवधारणा हो भनी बुझ्छन, तर यो गलत हो। मानिसप्रति परमेश्वरको हरेक सकारात्मक कार्य उहाँको अनुग्रहको अभिव्यक्ति हो। नोआले यस्तो के गरे कि उहाँले परमेश्वरबाट अनुग्रह पाए ? यसको उत्तर उत्पति ६:९ मा उल्लेख गरिएको छ। नोआ आफ्नो पुस्तामा धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। नोआ पनि अरु जस्तै साधारण मानिस थिए तर परमेश्वरले नोआलाई आफ्नो कृपा देखाउनुभयो किनभने वहाँको परमेश्वरप्रतिको सेवा गर्ने हृदय थियो।
हामीले हाम्रो कामहरुद्वारा अनुग्रह पाउन सक्दैनौं । जब इस्राएलीहरूले मिश्रमा छुटकाराको लागि पुकारा गरे, परमेश्वरले कुनै नियम आज्ञापालन गर र म तिमीहरुलाई छुटकारा दिनेछु भनी शर्त राख्नु भएन तर तिनीहरु अयोग्य भए तापनि परमेश्वरले उहाँको कृपाको कारण इस्राएलीहरूलाई छुटकारा दिनुभयो। इस्राएलीहरू कृपाको पात्र हुनुको अर्को मुख्य कारण प्रस्थान २: २३-२५ मा उल्लेख गरिएको छ। परमेश्वरले इस्राएलीहरूको सुस्केरा सुन्नुभएको, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभएको हामी पाउँछौं । विशेषगरी जब हामी अब्राहामको जीवनलाई अवलोकन गर्छौं, उहाँ पनि आफ्नो कामहरुद्वारा धर्मी ठहरिएका थिएनन् तर उहाँको विश्वासद्वारा धर्मी ठहरिएका थिए (उत्पति १५:६ र रोमी ४:२-५)। अझै यदि हामी रोमी ४:१३ – १६ लाई पढ्छौं भने हामीलाई यो थाहा हुन्छ कि परमेश्वरले अब्राहाम र उहाँको वंशलाई दिनुभएको संसारको उत्तराधिकारीको प्रतिज्ञा अब्राहामकै विश्वासद्वारा आएको थियो र त्यो प्रतिज्ञा परमेश्वरको अनुग्रहमा भर पर्छ।
पुरानो नियमका सबैभन्दा चर्चित पात्रहरूमध्ये एक, दाऊदलाई विचार गरौँ। उहाँलाई “परमेश्वरको मनले खाएको मान्छे” भनिन्छ (प्रेरित १३:२२), तर दाऊदले पनि एलीआमकी छोरी हित्ती उरियाहकी पत्नी बतशेबासँग व्यभिचार गर्नुभएको थियो। यति मात्र होइन, दाऊदले उरियाहलाई मार्ने षडयन्त्र रच्नुभएको थियो र त्यसमा सफल पनि हुनुभयो। दाऊदले गरेको यो पापको दण्ड परमेश्वरले दिनुभयो (२ शमुएल १२:७-१५)। दाऊदको छोरा उनको पापको कारणले गर्दा मरे। तर जब नातान अगमवक्ताले दाऊदलाई उहाँको पाप देखाइदिनुभयो, दाऊदले परमेश्वरसँग
पश्चातापको प्रार्थना गरेको हामी पाउँछौ ( भजनसंग्रह ५१)। दाऊदमा नैतिक कमजोरीहरु भए तापनि परमेश्वरको अपार अनुग्रहको कारण उहाँले दाऊदलाई क्षमा गर्नुभयो। दयालु परमेश्वर दण्ड दिने परमेश्वर पनि हुनुहुन्छ। उहाँको दोषीलाई दण्ड दिने स्वभाव र वहाँको अनुग्रही र प्रेमिलो स्वभाव, दुई फरक कुराहरु हुन्। इजकिएल १८:२३ अनुसार परमेश्वर दुष्टको मृत्युमा खुशी हुनुहुन्न। उहाँको अनुग्रहमा, उहाँ हामीप्रति धैर्यवान हुनुहुन्छ र कसैको नाश नहोस् भन्ने वहाँ चाहनुहुन्छ (२ पत्रुस ३:९)।
नयाँ नियममा, येशू ख्रीष्टको जीवनद्वारा परमेश्वरको अनुग्रह र प्रेम देखाइएको छ। हामी जो हाम्रो पापको कारण मरेका भए तापनि परमेश्वरले आफ्नो पुत्रद्वारा हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। वहाँको अनुग्रहबाट नै हामीहरूले उद्धार पाएका छौ। यो बचाउने अनुग्रह “ख्रीष्ट येशूमा” केन्द्रित छ। यस संसारमा शरीरमा आउनुहुने येशू ख्रीष्टले मानव जातिको लागि आफ्नो बलिदानद्वारा परमेश्वरको प्रेम देखाउनुहुन्छ। आज, हामीलाई येशू ख्रीष्टमा विश्वास गरेर, परमेश्वरसँग हुने सबैभन्दा सजिलो बाटो दिइएको छ (एफिसी २:८)। किनभने हामीसँग परमेश्वरको अनुग्रह छ, हामी येशूमा विश्वास गरेर हाम्रो मुक्तिको दाबी गर्न सक्छौं। आज ख्रीष्टमा विश्वास गर्ने प्रत्येक विश्वासीहरूसँग अनन्त जीवनको सुनिश्चितता छ (यूहन्ना ३:१६)।
मानिसको स्वतन्त्रता र सुन्दरताको हरेक पक्ष परमेश्वरको अनुग्रहबाट आएको हो। अनुग्रही परमेश्वरले आफ्नो अनुग्रह देखाउन कहिल्यै असफल हुनुहुन्न। उहाँको अनुग्रहले गर्दा हामी अस्तित्वमा छौं। परमेश्वरको न्याय र अविश्वासीहरूको अनन्त दण्डले पनि उहाँको अनुग्रह झल्काउँछ। परमेश्वरले हामीलाई पश्चात्ताप गर्ने मौका दिनुहुन्छ तर उहाँको अनुग्रहको कारणले गर्दा कसैलाई जबरजस्ती गर्नुहुन्न। हामीले उहाँको सर्वव्यापी अनुग्रहको लागि परमेश्वरको प्रशंसा गर्नुपर्छ। उहाँको अनुग्रहले हामीलाई उहाँमा सुरक्षित राख्छ, अहिले र अनन्तकालसम्म। यो सबै परमेश्वरको अपार र सुन्दर अनुग्रहको कारणले हो।
लेखकको परिचय:
ओशन श्रेष्ठ एक उत्साही र समर्पित युवा हुन्, जसले आफ्नो जीवनलाई ख्रीष्टको शिक्षालाई पालना गर्न र प्रचार गर्न समर्पित गरेका छन्। उनी धार्मिक अध्ययनमा गहिरो रुचि राख्छन् र बाइबलका शिक्षाहरूलाई आफ्नो जीवनमा लागू गर्ने प्रयास गर्छन्। उनका लेखहरूमा उनी अनुग्रह, प्रेम, र विश्वासको महत्त्वलाई जोड दिन्छन्, जसले पाठकहरूलाई आत्मिक प्रेरणा र मार्गदर्शन दिन्छ।
ओशनको लेखनशैली सरल र प्रभावशाली छ, जसले गर्दा पाठकहरूलाई बाइबलका गहिरा शिक्षाहरूलाई सहज रूपमा बुझ्न मद्दत गर्छ। उनले आफ्नो लेखहरूमा पुरानो र नयाँ नियमका विभिन्न घटनाहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्दै, परमेश्वरको अनुग्रहको सुन्दरतालाई उजागर गर्छन्।
ओशनले आफ्नो समयको एक ठूलो हिस्सा समाजसेवामा लगानी गर्छन्। उनी विभिन्न सामाजिक र धार्मिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन्छन् र युवाहरूमाझ ख्रीष्टको शिक्षाको प्रचार र प्रसार गर्न अग्रसर रहन्छन्। उनका लेख र विचारहरूले पाठकहरूलाई आध्यात्मिक रूपमा समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउँछन्।
ओशन श्रेष्ठको लक्ष्य भनेको आफ्नो जीवनलाई ख्रीष्टको सेवामा समर्पित गर्दै, अरूलाई पनि त्यही मार्गमा हिँड्न प्रेरित गर्नु हो।
ओशन श्रेष्ठ