सिड्नी, अष्ट्रेलिया – अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) सिड्नीमा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित “नेपाल फेष्टिभल २०२४” भव्य रूपमा सम्पन्न भएको छ। “एक देश, धेरै कथाहरू” भन्ने मुल नाराका साथ आयोजित यो महोत्सवले नेपाली समुदायको एकता, पहिचान, र मौलिकतालाई सिड्नीको सांस्कृतिक वातावरणमा उजागर गरेको छ।
नेपाली समुदायका हजारौं बुवा-आमा, महिला, बालबालिका, र युवाको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। साथै, महोत्सवमा सहभागी अस्ट्रेलियाली, भारतीय, र अन्य बहुसांस्कृतिक समुदायका सदस्यहरूले नेपाली संस्कृति र परिकारको स्वाद चाख्दै रमाइलो गरे।

नेपाल महोत्सवको मुख्य आकर्षण सांस्कृतिक परेड थियो, जसले पहिलो पटक सिड्नीका मुख्य सडकमा आवागमन रोक्दै नेपाली संस्कृतिको झल्को प्रस्तुत गर्यो। टाउन हलबाट सुरु भएर डार्लिङ हार्बरस्थित कार्यक्रमस्थलमा समापन भएको यो परेडमा बाजागाजा, नेपाली पोशाक, र सांस्कृतिक झाँकीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रममा पहिलो पटक न्यू साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले सहभागिता जनाउँदै उनले हजारौंको संख्यामा उपस्थित नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाली समुदायको सांस्कृतिक धरोहरप्रतिको योगदानको प्रशंसा गरे। विपक्षी नेता मार्क स्पिकम्यान र बहुसांस्कृतिक मन्त्री स्टीभ काम्परले पनि आफ्नो उपस्थिति जनाउँदै कार्यक्रमको गरिमा बढाए।

महोत्सवको विशेष आकर्षण “नेपाल हाउस” रह्यो। यसमा धरहरा र बौद्ध स्तुपा हस्तकला मोडेलहरू प्रदर्शनीमा राखिएका थिए। यी संरचनाले दर्शकहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको झलक दिलाए।

१२ घण्टासम्म चलेको महोत्सवमा ३५ भन्दा बढी स्टलहरू राखिएका थिए। यी स्टलहरूले नेपाली परिकार, हस्तकला, र व्यवसायिक उत्पादनहरूको प्रदर्शनी गर्यो। साथै, चर्चित कलाकारहरू आस्था राउत, हेमन्त शर्मा, र एक्स ब्यान्डले गित-संगीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए।

नेपाल महोत्सवको सफलतामा अष्ट्रेलियाली सरकारले ५०,००० डलर आर्थिक सहयोग प्रदान गरेको थियो। यसका अतिरिक्त, ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड भिसा प्रमुख प्रायोजकको रूपमा सक्रिय रह्यो। एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले महोत्सवले नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नेपाली संस्कृति विश्वसामु चिनाउने अभियानमा योगदान पुर्याएको बताए।
एनआरएनए अष्ट्रेलियाका मिडिया कोर्डिनेटर तथा बरिष्ठ पत्रकार हेमन्त काफ्लेको नेतृत्वमा महोत्सवको मिडिया व्यवस्थापन प्रभावकारी रूपमा सम्पन्न भएको थियो। महोत्सवको अन्त्यमा काफ्लेले सम्पूर्ण पत्रकारहरूलाई महोत्सव सम्पन्न गर्न दिएको योगदानप्रति आभार व्यक्त गर्दै भने, “यो महोत्सवलाई ऐतिहासिक र सफल बनाउन मिडिया टोलीको सुरुदेखि नै महत्वपूर्ण भूमिका रहेको छ, जसको उचित मूल्यांकन आयोजकहरूमार्फत हुनुपर्छ।”
कार्यक्रमको अन्त्यमा एनआरएनए एनएसडब्लू संयोजक बिनोद कुवर लगाएत एनआरएनए अस्ट्रेलियाका अन्य नेताहरूले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने सबै स्वयंसेवीहरूलाई धन्यवाद व्यक्त गरे।
नेपाल फेष्टिभल २०२४ ले नेपाली समुदायको एकता, पहिचान, र सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।





































