Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

रातो मच्छिन्द्रनाथको भोटो जात्रा, आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Zenith Migration Education

वर्षा र समृद्धिका देवता रातो मच्छिन्द्रनाथको भोटो आज प्रदर्शित गरिनेछ। करिब आठ सय वर्षअघि यो भोटो जात्रालाई जावलाखेल जात्रा भनिन्थ्यो। ‘जा’ (भात) र ‘वला’ (छर्ने) बाट यसको नाम जावलाखेल जात्रा परेको हो। रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा संलग्न रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले यसबारे जानकारी दिएका छन्। यो जात्रा भूतप्रेतलाई खाना दिन गरिएको विश्वास गरिन्छ।

भोटो जात्राको सुरु भएको ठ्याक्कै मिति अहिलेसम्म थाहा नभएको उनले जनाए। तर, मच्छिन्द्रनाथको यात्रा भने लगभग एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो। किंवदन्तीअनुसार, यो यात्रा सुरु भएपछि नागराज कर्कोटककी रानीको आँखा दुख्न थाल्यो। कर्कोटकले वैद्यको खोजी गर्न थाले र खेतमा काम गरिरहेका एक किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे।

भयभीत किसानले मच्छिन्द्रनाथको प्रार्थना गर्दै माडेको मयललाई औषधिको रूपमा कर्कोटकलाई दिए। औषधिको प्रभावले रानीको आँखा दुख्ने समस्या समाधान भयो। प्रसन्न कर्कोटकले पुरस्कारस्वरूप मणिमाणिक्यले सजिएको भोटो किसानलाई दिए र उनलाई पुनः मनुष्यलोकमा फर्काए। किसानले त्यो भोटो खेतको डिलमा राखेर आफ्नो काम गर्न थाले।

एक दिन मनुष्य रूपी भूत आएर किसानको भोटो चोरेर लग्यो। किसानले धेरै खोजे तर फेला पार्न सकेनन्। मच्छिन्द्रनाथको जात्रा हेर्न गएका बेला किसानले देखे कि एक मनुष्यजस्तो देखिने भूतले आफूले पुरस्कारस्वरूप पाएको भोटो लगाएको छ। किसानले भोटो आफ्नो हो भनेर दाबी गरे। भूतले भोटो दिन अस्वीकार गरेपछि विवाद सुरु भयो। विवाद सुल्झाउन कर्कोटक नागलाई बोलाएर सोधपुछ गरियो। अन्तमा, भोटोको वास्तविक अधिकारी दुवै नभएको ठहर गर्दै भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिने परम्परा स्थापित गर्न रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि भोटो जात्रा गर्ने चलन सुरु भयो। त्यस समयदेखि प्रत्येक वर्ष साइत हेरेर भोटो प्रदर्शित गरिने विश्वास छ। किंवदन्तीअनुसार, अहिलेसम्म कसैले पनि प्रमाण जुटाएर भोटो लैजान सकेका छैनन्।

हालैका वर्षहरूमा, गुठी संस्थान ललितपुरका प्रतिनिधिहरूले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा कायम राख्दै आएका छन्। यस वर्षको जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्। यस अवसरलाई मध्यनजर गर्दै सरकारले आज उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु