Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

वर्षाले काठमाडौं उपत्यकामा जनजीवन अस्तव्यस्त

Zenith Migration Education

गएरातिदेखि निरन्तर परेको वर्षाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ। काठमाडौँ उपत्यकामा बहने खोला र नदीहरूमा पानीको सतह बढ्दा तटिय क्षेत्र र वरपरका बस्तीहरू प्रभावित भएका छन्। वर्षाको कारण मुख्य सडकहरू जलमग्न हुँदा सडक यातायातमा अवरोध आएको छ।

सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वारमा पानी जम्दा असहजता सिर्जना भएको छ भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलको कार्यालय परिसरमा पनि जलमग्नता देखिएको छ। रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राहीको प्रवेश असम्भव भएको छ। पानीको जमावटले कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी निकास सहज बनाउँदैछ। लगातारको वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारणलाई थप मर्कामा पारेको छ।

वर्षाको कारण उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको थियो। कार्यालय समयमा सवारी साधनहरू एक घण्टासम्म लामो जाममा परेका थिए। लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका धेरै सडकहरूमा ट्राफिक जाम भएको जानकारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले दिएका छन्। उनका अनुसार अहिले वर्षा रोकिएसँगै जनजीवन सामान्य हुँदै गएको छ र सवारीसाधनको जाम पनि हटेको छ। विशेषगरी करिडोरका सडकमा पानी जम्दा भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर, र कुपण्डोल क्षेत्रमा सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।

लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधरण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। विशेषगरी काठमाडौँको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, र पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।

वर्षाले सडक र चोकमा सर्वसाधारणको भीड देखिन्थ्यो भने दुईपाङ्ग्रे सवारीसाधनका यात्रुहरू बढी मर्कामा परेका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको कारण आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु