Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रिय पहिचान झल्काउने पोसाक लगाउन पाइने

Zenith Migration Education

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान झल्काउने पहिरनमा खिचिएको फोटो राख्न कुनै रोकटोक नरहेको स्पष्ट पारेको छ।

सिन्दूर, पोते र टिका हटाएर फोटो खिच्न लगाइएको भन्दै उठेका आलोचनाहरूपछि पञ्जीकरण विभागले स्पष्ट पार्दै सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन चार बुँदे निर्देशन जारी गरेको छ। यस निर्देशनले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा रहेका द्विविधाहरू हटाउने लक्ष्य राखेको छ। निर्देशन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई र सम्बद्ध निकायलाई पठाइएको छ।

यस्ता छन् निर्देशनहरू:
१. राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सेवाग्राहीको मुख स्पष्ट देखिने र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ। फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, तथा धार्मिक, सांस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाउन कुनै रोकटोक हुनेछैन।

२. राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेक अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गरिनेछ। सम्भव भएसम्म, सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेपछि दर्ता प्रक्रिया अगाडि बढाइनेछ।

३. यदि व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा, सीआइएमएस नागरिकताको अभिलेखबाट पनि रुजु गरी विवरण दर्ता गरिने व्यवस्था मिलाइनेछ।

४. यदि कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले पनि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा, विवरण दर्ताको व्यवस्था मिलाइनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु