झापा । झापा प्रहरीले दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीले सार्वजनिक गरेका विवरणअनुसार रकमको विवादका क्रममा भारतीय नागरिकले रमा तिवारीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा करिब ३० वर्षीय भारतीय नागरिकलाई सार्वजनिक गर्दै घटनाबारे विस्तृत जानकारी दिएको हो। आरोपित लामो समयदेखि दमक तथा आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको काम गर्दै आएको प्रहरीले जनाएको छ।
गत जेठ १६ गते दमक नगरपालिका–१० को सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बोराभित्र महिलाको शव फेला परेको थियो। पछि उक्त शव दमक–८ निवासी रमा तिवारीको रहेको पुष्टि भएपछि प्रहरीले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार मृतक र आरोपितबीच पहिलेदेखि चिनजान रहेको र रकमको लेनदेनका विषयमा उत्पन्न विवादले हत्या भएको निष्कर्षमा अनुसन्धान पुगेको छ। हत्या गरेपछि शवलाई मोटरसाइकलमा राखेर रतुवा खोलाको पुलमुनि पु¥याई बोराभित्र राखेर फालिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा गरेका ती व्यक्ति करिब ३० वर्षीय ‘पण्डित’ लामो समयदेखि दमक तथा आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएका थिए।
मोबाइल फोनको कल डिटेल, लोकेसन ट्र्याकिङ, डिजिटल प्रमाण तथा स्थानीय व्यक्तिहरूको बयानका आधारमा प्रहरीले आरोपितसम्म पुग्न सफल भएको जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको छ।
प्रहरीले घटनाको अनुसन्धान लगभग सम्पन्न भएको र सङ्कलित प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने स्थानीयवासीले घटनाको सफल अनुसन्धान गरेको भन्दै प्रहरीको प्रशंसा गरेका छन्।



