Monday, July 20, 2026
Zenith Migration Education
Monday, July 20, 2026

नेपालमा काम गर्न निजामती कर्मचारी नै बाधक : मुख्यमन्त्री बानियाँ

Zenith Migration Education

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपालमा विकास र सेवा प्रवाहका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्नुमा निजामती कर्मचारीतन्त्र प्रमुख बाधक बनेको बताएका छन्।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा बोल्दै मुख्यमन्त्री बानियाँले कर्मचारीहरूले विभिन्न प्रक्रियामा अल्झाएर राख्ने प्रवृत्तिका कारण काम सम्पन्न गर्न कठिन हुने गरेको बताए।

उनले प्रधानमन्त्रीले सरकारी टेण्डरबाहेकका सूचना तथा कार्यक्रमहरू सार्वजनिक गर्न निर्देशन दिएको स्मरण गर्दै उक्त निर्देशन आफूहरूको उपस्थितिमै दिइएको भए पनि कर्मचारीहरूले अझै कार्यान्वयन नगरेको गुनासो गरे।

‘सरकारी टेण्डर बाहेकका सबै सूचना कार्यक्रम दिनु भनेर प्रधानमन्त्रीले हाम्रो अगाडि नै भन्नुभएको थियो, तर कर्मचारीले अझै पठाएका छैनन्,’ उनले भने।

मुख्यमन्त्री बानियाँले पत्रकारहरूलाई प्रदेश सरकारले उपलब्ध गराउँदै आएको सुविधा नकटाइने स्पष्ट पार्दै आगामी दिनमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। ‘हामी पत्रकारलाई दिएको सुविधा कटाउँदैनौँ, बढाएर नै लैजान्छौँ,’ उनले भने।

कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी ले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।

मन्त्री अधिकारीले पत्रकारहरूले भोगिरहेका समस्या समाधानका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पत्रकारलाई अप्ठ्यारो पार्ने कुनै काम नगर्ने बताए।

‘लोकतन्त्रमा पत्रकारको भूमिका ठूलो छ। पत्रकारका अप्ठ्यारा फुकाउन हामी सहयोग गर्नेछौँ, अप्ठ्यारो पार्ने काम हुँदैन,’ उनले भने।

मिडिया सम्मेलनमा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रका चुनौती, प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका विषयमा धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु