सिड्नी — Taronga Zoo मा ल्याइएका एकसिँगे गैडा ‘हरि’लाई यहाँस्थित नेपाली समुदायले उत्साहपूर्वक स्वागत गरेका छन्। नेपालमा पाइने दुर्लभ एकसिँगे गैडासँग सांस्कृतिक र भावनात्मक सम्बन्ध गाँसिएको भन्दै प्रवासी नेपालीहरूले विशेष चासो देखाएका हुन्।

चिडियाखानाले ‘हरि’लाई Taronga Western Plains Zoo बाट गत डिसेम्बरमा सिड्नी स्थानान्तरण गरेको जनाएको छ। ‘हरि’ आमा अमला र बुवा डोराबाट जन्मिएका हुन्। अमला सन् २००६ मा अमेरिकामा जन्मिएर २००९ मा अष्ट्रेलिया ल्याइएकी थिइन् भने डोरालाई सन् २००३ मा जापानबाट अष्ट्रेलिया ल्याइएको थियो।

नेपालमा उल्लेख्य संख्यामा पाइने एकसिँगे गैडाको पहिचानसँग जोडिँदै अमला–डोराबाट जन्मिएको यस गैडाको नाम नेपालीमै ‘हरि’ राखिएको जनाइएको छ।

स्वागत कार्यक्रममा सिड्नीस्थित नेपाली कन्सुलेट कार्यालयका कन्सुलर सञ्जिब शर्मा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तस्बिरः ओबर्न नेपाली कम्युनिटी



