Monday, May 4, 2026
Zenith Migration Education
Monday, May 4, 2026

कलाकार कुसल थापाको ‘सुकुटी घर’ लोकप्रिय बन्दै

Zenith Migration Education

सिड्नी (ग्रानभिल) — अष्ट्रेलियाको व्यस्त शहर Sydney को ग्रानभिलस्थित 19 Cowper Street, Granville NSW 2142 मा सञ्चालनमा रहेको ‘सुकुटी घर’ नेपाली स्वादको खोजीमा रहेका प्रवासी नेपाली तथा स्थानीय ग्राहकबीच दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। नेपाली चलचित्रका कलाकार कुसल थापा दम्पतीद्वारा सञ्चालनमा रहेको यो रेस्टुरेन्टले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

रेस्टुरेन्टमा सुकुटी विशेष परिकारका रूपमा उपलब्ध छ, जसले नेपालकै मौलिक स्वादको अनुभूति दिलाउँछ। यससँगै नेवारी परिकारहरूका साथ मोमो, चाउमिन, पानीपुरी, चटपटेजस्ता लोकप्रिय स्ट्रीट फुडहरू पनि ग्राहकको रोजाइमा पर्ने गरेका छन्। ग्राहकको मागअनुसार विभिन्न पेय पदार्थ (ड्रिंक्स) को व्यवस्था समेत गरिएको छ।

साँझपख यहाँ एकल, युगल जोडी तथा परिवारहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ। ग्राहकलाई ‘अतिथि’का रूपमा सम्मान गर्दै आदरपूर्वक सेवा दिने संस्कारले ‘सुकुटी घर’लाई अझ आकर्षक बनाएको छ। सेवा व्यवस्थापनमा कुसल थापाकी श्रीमती स्वयं वेट्रेस टोलीसँगै खटिँदै ग्राहक सेवामा समर्पित देखिन्छिन्।

रेस्टुरेन्टमा जन्मदिन, पारिवारिक जमघट तथा साना कार्यक्रमहरू आयोजना गर्न मिल्ने सुविधा समेत उपलब्ध छ। कहिलेकाहीँ लाइभ प्रस्तुति हुने भएकाले यहाँको वातावरण झन् रमाइलो बन्ने गरेको ग्राहकहरू बताउँछन्।

नियमित ग्राहकहरूका अनुसार, “सुकुटी घरले सिड्नीमै बसेर नेपालकै स्वादको अनुभूति दिलाउँछ।” यही कारण, सिड्नीका दर्जनौं रेस्टुरेन्टमध्ये ‘सुकुटी घर’ विशेष आकर्षणको केन्द्र बन्न पुगेको छ।

सञ्चालक कुसल थापाका अनुसार, “कलाकारितासँगै रोजगारी सिर्जना गर्नु र प्रवासमा नेपाली स्वाद चिनाउनु हाम्रो मुख्य उद्देश्य हो।” यसै उद्देश्यका साथ अनुभवी कुक तथा कर्मचारी नियुक्त गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको उनले बताए।

विभिन्न उमेर समूहका ग्राहकहरूको निरन्तर आगमनले व्यवसाय राम्रोसँग अघि बढिरहेको थापा दम्पती बताउँछन्। प्रवासमा नेपालीपनको झल्को दिने ‘सुकुटी घर’ले स्वाद र सेवामार्फत नेपाली पहिचानलाई थप मजबुत बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु