Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

अर्थमन्त्री वाग्ले भन्छन्- आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ

Zenith Migration Education

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेका छन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठुलो फड्को मार्नुपर्ने बताएका हुन् ।

सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताए ।

मन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए । नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै प्रमुख अस्त्र हुने उनको तर्क छ । सूचना प्रविधिलाई प्राथमिकता दिनैका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने उनले विश्वास व्यक्त गरे ।

निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताए । मन्त्री वाग्लेले आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिए ।

भारतले विगत १०–१२ वर्षमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उनको भनाइ छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार अमिताभ कान्त र पूर्व अर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने बताए ।

उनले रुग्ण कानुनहरूको खारेजी र प्रशासनिक झन्झटको अन्त्य नै आफ्नो पहिलो प्राथमिकता रहेको समेत पुनः दोहोर्याए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु